गणतन्त्र स्मारक अन्तिम चरणमा, स्तम्भ अन्योलमा • Image Khabar Image Khabar


गणतन्त्र स्मारक अन्तिम चरणमा, स्तम्भ अन्योलमा


Imagekhabar
१४ जेष्ठ २०७५, सोमबार १५:२४

गणतन्त्र स्मारक अन्तिम चरणमा, स्तम्भ अन्योलमा

सहरी विकास तथा भवन निर्माण विभागले सो स्मारक निर्माण गरेको हो । स्मारक सन्चालन कसले कसरी गर्ने भन्ने सम्बन्धमा कार्यविधि मस्यौदा भइरहेको विभागका उपमहानिर्देशक मणिराम गेलालले राससलाई बताए ।

लोकतान्त्रिक गणतन्त्रको प्रतीककारुपमा निर्माण भएको स्मारकमा चारओटा खम्बा छन् ।

राणा शासनको अन्त्यदेखि हालसम्म स्वतन्त्रता प्राप्तिका लागि भएका आन्दोलनकाक्रममा ज्यान गुमाएका, हराएका, बेपत्ता पारिएका र अंगभंग भएका ज्यूँदा सहिदका नाममा सम्झनास्वरुप खम्बा निर्माण गरिएको हो ।

नारायणहिटी दरबार संग्रहालयले उपलब्ध गराएको ३५ रोपनी क्षेत्रफलमा स्मारकका संरचना निर्माण गरिएको विभागका वरिष्ठ डिभिजनल इन्जिनियर मचाकाजी महर्जनले जानकारी दिए । स्मारकको मूल संरचना भने दुई रोपनी क्षेत्रफलमा फैलिएको छ ।

‘जनआन्दोलनका सहिदसम्बन्धी चिजबिज प्रदर्शनी गर्न स्मारकमा ग्यालरी पनि निर्माण गरिएको छ, स्मारक अन्डाकार संरचनाको छ, जहाँबाट रातो प्रकाश निस्कनेछ । अन्डाकारको तल नेपालको नक्साको आकार हुनेछ’–वरिष्ठ डिभिजनल इन्जिनियर महर्जनले भने ।

स्मारकमा ‘सहिदको रगत खेर जाने छैन, नेपालकै लागि सदुपयोग हुनेछ’ मूल भाव आउने वाक्यसमेत राख्ने तयारी गरिएको छ ।

स्मारकमा बहुउद्देश्यीय हल, विशिष्ट कक्ष, चमेनागृह, शौचालयलगायतका संरचनासमेत निर्माण भएको छ ।

यसअघि, नारायणहिटी दरबार क्षेत्रमा रहेको टुकुचा नदीको चौडाइ विस्तार गरिएको छ । यसले टुकुचामा आउने ठूलो बाढी पनि थेग्ने उनले बताए ,

नारायणहिटी दरबार संग्रहालयको पूर्वपट्टि नागपोखरीमा अवस्थित स्मारकमा नेपालमा प्रजातन्त्र प्राप्तिका लागि जनताले निर्वाह गरेको भूमिकाका विभिन्न तस्वीर र कलाकृतिलगायतका सामग्री राखिनेछन् ।

स्मारकको भावनात्मक सम्बन्ध हरेक नेपालीसँग जोडिएकाले लोकतन्त्र प्राप्तिका लागि सहिदको बलिदानीलाई जीवन्त राख्न मद्दत गर्ने विश्वास लिइएको छ ।

यस्ता कलाकृतिले जनतामा प्रजातन्त्र, लोकतन्त्र तथा गणतन्त्र ल्याउन कति साहस, त्याग र बलिदानीको आवश्यकता पर्‍यो भन्ने देखाउँछ ।

हिमाल, पहाड र तराईको भौगोलिक अवस्था झल्किने कलाकृति पनि स्मारकको ग्यालरीमा राखिनेछ ।

नेपालको तीनओटै भौगोलिक अवस्था चिनाउने आकृतिबाट रातो किरण निस्किनेछ । कलाकृतिका माध्यमबाट हिमाली क्षेत्रका मनमोहक हिमाल, पहाडका डाँडाकाँडा र तराईको समथर भू–भाग ग्यालरीमा राखिनेछ । त्यसबाट उत्पन्न हुने रातो प्रकाशले सहिदका चार स्मारकलाई उज्यालो बनाउँछ ।

‘किरणका माध्यमबाट सहिद, बेपत्ता र अंगभंग पारिएकालाई राष्ट्रले सम्झिरहेको छ भन्ने प्रतिकात्मक अर्थ दिनेछ’–उनले भने ।

वि.सं. २०६८ चैत १४ गते तत्कालीन प्रधानमन्त्री डा. बाबुराम भट्टराईले स्मारक शिलान्यास गरेका थिए ।

तीन वर्षमा निर्माण सम्पन्न गर्ने सम्झौता गरिएकामा भूकम्प र नाकाबन्दीका कारण चार वर्ष ढिला भएको विभागले जनाएको छ ।

स्मारक प्रवेशमा शुल्क नलाग्ने
स्मारकमा प्रवेश गर्नका लागि शुल्क नलाग्ने गरी कार्यविधि निर्माण भइरहेको विभागका उपमहानिर्देशक गेलालले सुनाए । कार्यविधि मन्त्रिपरिषदले पारित गरेपछि कार्यान्वयन हुनेछ ।

नारायणहिटी दरबार संग्रहालय भ्रमणका लागि भने तोकिएअनुसार टिकट काट्नुपर्नेछ ।

भ्रमण र अध्ययनका लागि आउने सर्वसाधारण, विद्यार्थीका साथै विदेशी पर्यटकलाई नेपालमा लोकतन्त्र प्राप्तिको चित्र र संघर्षलाई भावनात्मकरुपमा देखाउने एवं बुझाउने स्मारकको मूल लक्ष्य हुनेछ ।

संग्रहालय प्रमुख रोहितकुमार ढुंगानाले स्मारक अन्तिम चरणमा पुगेको देखिएपनि कहिलेदेखि सन्चालनमा आउँछ भन्ने थाहा नभएको बताए ।

एकैपटकमा १०० जनाभन्दा बढीले स्मारक भ्रमण गर्न सक्नेछन् । स्मारक निर्माणमा भारत र चीनका प्राविधिक संलग्न थिए ।

रु ३५ करोडमा सम्झौता भएपनि स्मारक निर्माणका लागि रु ४० करोड लागेको बिकोइ/स्काई/बंगलामुखी जेभीका रोशन श्रेष्ठले बताए । आन्तरिक साज–सज्जाको काममात्र बाँकी रहेको उनको भनाइ थियो ।

बजेट अभावले अन्योलमा गणतन्त्र स्तम्भ
स्मारकसँगै निर्माण हुने भन्ने चर्चामा आएको गणतन्त्र स्तम्भ भने अझै अन्योलमा छ । स्तम्भको ड्रइङ, डिजाइन सबै तयार भएपनि बजेटको सुनिश्चितता नहुँदा स्तम्भ अन्योलमा रहेको विभागले जनाएको छ ।

स्तम्भ निर्माण गर्न रु एक अर्ब ८७ करोड बराबरको लागत अनुमान गरिएको वरिष्ठ डिभिजनल इन्जिनियर महर्जनले सुनाए ।

स्तम्भ निर्माणका लागि त्रिभुवन विश्वविद्यालयले बल्खुस्थित परीक्षा नियन्त्रण कार्यालयसँगै जोडिएको काठमाडौं महानगरपालिका वडा नम्बर–१४ गांखेलको ६० रोपनी जग्गा दिने सहमति गरेको छ ।

सहमतिबमोजिम मन्त्रिपरिषदले निर्णय गरी स्तम्भका नाममा सो जग्गा छुट्याइसकेको छ ।

स्तम्भ ९४ मिटर उचाइको बनाइने योजना छ । यसअघि, १५० मिटर अग्लो स्तम्भ निर्माण गर्ने तयारी गरिएकामा नमुना परिवर्तन गरी ९४ मिटरमा झारिएको विभागले जनाएको छ ।

अलपत्र राष्ट्रिय सहिद स्मारक
वि.सं. २०६३ वैशाख ११ गते लोकतन्त्रको स्थापना भएसँगै सुरु गरिएको राष्ट्रिय सहिद स्मारक निर्माणको काम १२ प्रवेश गर्दा पनि अलपत्र छ ।

वि.सं. २०६४ जेठ ११ गते मन्त्रिपरिषदले गोकर्णको यज्ञडोल (जगडोल) सामुदायिक वनको ६५० रोपनी क्षेत्रफलमा स्मारक निर्माण गर्ने निर्णय गरेको थियो ।

स्मारकमा राणा शासनदेखि पछिल्लो जनआन्दोलनसम्मका सहिदका नाममा स्तम्भ, सहिद संग्रहालय, पुस्तकालय, शान्तिस्तम्भ, निजामती पार्क र ताप्लेजुङको घुन्सामा हेलिकोप्टर दुर्घटनामा परी निधन भएका संरक्षणविद्को सम्झनामा घुन्सा स्मृति स्मारक निर्माण भइरहेको छ ।

साविकको शान्ति तथा पुनःनिर्माण मन्त्रालयअन्तर्गत् द्वन्द्वोत्तर शान्ति परियोजनाले निर्माण गरिरहेको स्मारक मन्त्रालयको खारेजीसँगै अलपत्र बनेको हो ।

निर्माण व्यवसायीको लापरबाहीले स्मारक अलपत्र बनेको निर्माण कार्यदल कार्यसम्पादन समितिका अध्यक्ष सुदर्शन सिग्देलले बताए ।

शान्ति मन्त्रालय खारेजी भएपछि आगामी आर्थिक वर्षमा कुन मन्त्रालयबाट स्मारक निर्माणका लागि बजेट आउँछ भन्ने अझै अन्योल रहेको उनले सुनाए ।

प्रतिक्रिया दिनुहोस्