
नेपाल कम्युनिस्ट पार्टीको आयोजना भएको दुईदिने सम्मेलनमा नेपाललगायत भारत, जापान, कोरिया, ब्राजिल, जर्मनका ४० भन्दा बढी कम्युनिस्ट पार्टीका नेता सहभागी छन् ।
सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कम्युनिस्ट आन्दोलन र क्रान्तिबारे कार्यपत्र पेस गरेका थिए ।
उनले समाज परिवर्तनका लागि कार्ल मार्क्सको विचार अहिले पनि उत्तिकै सान्दर्भिक रहेको बताए ।
प्रधानमन्त्री ओलीले सरकारसँग छोटो समयमै धेरै काम गर्नुपर्ने चुनौती रहेको उल्लेख गरे ।
उनले मुलुकको समृद्धिका लागि लगानीको वातावरण प्रशस्त गर्दै औद्योगिक क्रान्तिबाट स्वदेशमै रोजगारीको वातावरण तयार गरिने बताए ।
सुशासन, भ्रष्टाचारको अन्त्य, छिमेकी राष्ट्रहरुसँगको सम्बन्ध सुदृढीकरण गर्नुजस्ता कार्य सरकारको मूल लक्ष रहेको उनले स्पस्ट पारे ।
नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहालले वैज्ञानिकरुपमा समाजलाई परिवर्तन गर्न र जनताको सर्वोपरी हितका लागि मार्क्सको सिद्धान्त अहिले पनि सान्दर्भिक रहेको बताए ।
उनले कम्युनिस्ट पार्टीको एकताले लोकतन्त्र अझ सुदृढ हुने दावी पनि गरे ।
सैद्धान्तिक र व्यवहारिकरुपमा परिवर्तनलाई आत्मसाथ गर्दै आइपर्ने जस्तोसुकै चुनौती सामना गर्न पनि कम्युनिस्ट पार्टी सक्षम रहेको उनको भनाइ थियो ।
प्रतिक्रिया दिनुहोस्