दाङमा झाडापखाला नियन्त्रण हुँदै • Image Khabar Image Khabar


दाङमा झाडापखाला नियन्त्रण हुँदै


Imagekhabar
१६ जेष्ठ २०७५, बुधबार १४:१५

दाङमा झाडापखाला नियन्त्रण हुँदै

बुधबार चौथो दिन १५५ बिरामी उपचारका लागि आएकामा पाँचजनाको चिराघाट स्वास्थ केन्द्रमा उपचार भइरहेको, एकजनालाई राप्ती अञ्चल अस्पतालमा थप उपचारका लागि पठाइएको र अन्य बिरामी उपचारपछि घर फर्किसकेको स्वास्थ्य केन्द्रले जनाएको छ ।

बुधबार उपचारका लागि आएकासमेत दाङमा झाडापखालाबाट प्रभावित हुने एक हजार ६३१ पुगेका छन् ।

बुधबार आएका अधिकांश बिरामी सामान्य अवस्थाका रहेको स्वास्थ्य केन्द्रले जनाएको छ ।

बुधबार पनि स्थानीय माइली पानी मुहान पूर्णरुपमा बन्द गराइएको छ । प्रभावित सबै क्षेत्रमा तुलसीपुरबाट ट्यांकरमा पानी लगेर वितरण गरिएको छ ।

बुधबार तुलसीपुर अञ्चल अस्पतालमा यसअघिका पाँच र आजका एक गरी ६ बिरामीको उपचार भइरहेको छ ।

सिटी अस्पताल तुलसीपुरमा पनि पाँच बिरामी उपचाररत् छन् ।

झाडापखाला फैलनाको मुख्य कारण मुहानको पानी दूषित भएको भन्ने पुष्टि भएको छ । सो मुहानको पानीमा ‘कोलिफर्म’ भन्ने जीवाणु परीक्षणकाक्रममा भेटिएपछि यस्तो पुष्टि भएको हो ।

अझैपनि चिराघाट क्षेत्रमा एम्बुलेन्स तथा नेपाली सेना र औषधिसहित चिकित्सकको टोली तयारी अवस्थामा नै राखिएको छ ।

बुधबार काठमाडौंबाट पानी शुद्धीकरण गर्ने एक टोली पनि आएको गाउँपालिकाका अध्यक्ष कमासिंह डाँगीले जानकारी दिए ।

अब प्रभावित क्षेत्रमा व्यापकरुपमा जनचेतनामूलक कार्यक्रम गरिने डाँगीले जानकारी दिए । प्रभावित क्षेत्रको जनजीवन सामान्य बनेको छ । रासस

प्रतिक्रिया दिनुहोस्