
सुन्दर थकाली/ईमेज:
मुस्ताङ, जेठ १७ । हिमालपारीको जिल्ला मुस्ताङको ढुम्बा तालमा पछिल्लो समय पर्यटकको आगमन बढ्दै गएको छ ।
मुस्ताङको मुक्तिनाथ दर्शन गर्न आउने पर्यटक प्रायः ढुम्बा तालको दर्शन गरेर मात्रै फर्कने गरेको पाइन्छ । पर्यटकको आगमन बढ्दै गएपछि स्थानीय व्यवसायी समेत उत्साहित बन्दै गएका छन् ।
सदरमुकाम जोमसोमदेखि ५ किलोमिटर पूर्वमा पर्ने ढुम्बा ताल २ वर्षयता चर्चामा आउन थालेको छ ।
केही नेपाली चलचित्रले ढुम्बा तालको दृश्य छायांकन गरेपछि तालको सुन्दरता दर्शन गर्न आउने पर्यटक बढ्न थालेका छन् ।
समुद्र सतहदेखि करिब ३ हजार मिटरको उचाइमा रहेको ढुम्बा तालको लम्बाइ १ सय ५० मिटर र चौडाइ १०० मिटर छ । अहिले मुक्तिनाथ मन्दिर दर्शन गर्न आएका अधिकांश पर्यटक ढुम्बाताल पुग्ने गरेका छन् ।
कालिगण्डकी करिडोरअन्तर्गत पूर्वकोे नीलगिरी र पश्चिमको धौलागिरी हिमाल यस स्थानबाट देखिन्छ ।
तालका बारेमा चलचित्र र मिडियाको समाचारले यहाँ आउन लोभ्याएको पर्यटकको भनाइ छ ।
निलगिरी हिमाल जस्तै स्वछन्द निलो रङमा देखिने यो ताल हेर्न दैनिक १ सय देखि ४ सयसम्म आन्तरिक तथा बाह्य पर्यटक आउने गरेको रेष्टुरेन्ट संचालक अजित पुन बताउँछन् ।
जोमसोमदेखि ठिनीको बाटो अथवा जोमसोमदेखि स्याङको बाटो हुदै ढुम्बाताल पुग्न सकिन्छ ।
पर्यटकीय गन्तव्यको सम्भावना बोकेको उक्त तालसम्म पुग्ने सडक थप स्तरोन्नति हुनु आवश्यक छ ।
ढुम्बातालमा नेपाली चलचित्रको छायाकंन हुनुले पनि यस ठाउँको प्रचार प्रसार हुने अपेक्षा गर्न सकिन्छ ।
प्रतिक्रिया दिनुहोस्