काठमाडौंको फोहर विसर्जन गर्न ओखरपौवामा स्थानीयबाट अवरोध • Image Khabar Image Khabar


काठमाडौंको फोहर विसर्जन गर्न ओखरपौवामा स्थानीयबाट अवरोध


Imagekhabar
१८ जेष्ठ २०७५, शुक्रबार ११:२२

काठमाडौंको फोहर विसर्जन गर्न ओखरपौवामा स्थानीयबाट अवरोध

नुवाकोट, जेठ १८ । ओखरपौवाका स्थानीयवासीको अवरोधका कारण आज बिहानदेखि काठमाडौं उपत्यकाको फोहर विसर्जन गर्न अवरुद्ध भएको छ ।

काठमाडौंको तीनपिप्लेदेखि फोहर विसर्जन हुँदै आएको स्थान सिसडोलसम्म भइरहेको सडक कालोपत्रेको काम गुणस्तरीय नभएको भन्दै फोहर बोकेर आएका गाडी स्थानीयवासीले रोकेको प्रहरी चौकी ओखरपौवाका प्रमुख प्रहरी सहायक निरीक्षक पशुपति पाठकले जानकारी दिए ।

उनका अनुसार स्थानीयवासीको अवरोधले काठमाडौंबाट फोहर बोकेर आएका करीब १०० वटा गाडी अहिले तीनपिप्ले क्षेत्रमा नै रोकिएका छन् ।

काठमाडौं महानगरपालिकामार्फत ठेक्का लगाएर तीनपिप्लेदेखि सिसडोलसम्मको करीब नौ किलोमिटर सडकको जारी रहेको कालोपत्रेको काम गुणस्तरहीन भएकाले फोहरका गाडी रोक्न बाध्य भएको स्थानीयवासी लालबहादुर बलामीले बताए ।

‘कुनै स्थानमा दुई लेनको कालोपत्रे भएको छ, कहीँ सडकसमेत छोपिएको छैन,’ बलामीले भने, ‘ठूलोखोलादेखि प्रहरी चौकीसम्मको करीब तीन किलोमिटर सडकमा नाम मात्रको कालोपत्रे भएकाले विरोधमा उत्रिएका हौँ ।’

उनका अनुसार गुणस्तरीय काम नगरेको भन्दै यसअघि विभिन्न पटक जनप्रतिनिधिमार्फत ठेकेदारलाई सचेत गराउँदा सुनुवाइ नभएको हो ।

काठमाडौं उपत्यकामा दैनिक उत्पादन हुने एक हजार ५०० भन्दा बढी टन फोहरको विसर्जन यहाँको ओखरपौवास्थित सिसडोलमा गरिँदै आएको छ । (रासस)

प्रतिक्रिया दिनुहोस्