काठमाडौं, कात्तिक २२ । एकीकृत राप्रपा राष्ट्रवादीका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले तीनओटै राप्रपाबीचको एकता प्रक्रियाको काम ९० प्रतिशत सम्पन्न भइसकेको जिकिर गरेका छन् ।
उनले अब एक महिनाभित्र तीन राप्रपाबीच पार्टी एकता हुने दाबीसमेत गरे ।
बिहीबार रिपोर्टर्स् क्लबको देउसी–भैलो कार्यक्रममा सन्चारकर्मीहरुसित संक्षिप्त कुराकानी गर्दै उनले यस्तो खुलासा गरेका हुन् ।
‘एकता एक महिनाभित्रै सम्पन्न हुन्छ । कार्यकर्ताको चर्को दबाब छ’–उनले भने–‘त्यही भएर हामी अब मिलेर जान्छौं । एकताका लागि ९० प्रतिशत काम सकियो ।’
पार्टीको नेतृत्व कसले गर्ने भन्नेबारेमा पनि कुनै विवाद नरहेको उनको भनाइ छ ।
‘अध्यक्षमा पनि कुरा मिलेको छ । हामी तीनैजना नेताहरु मिलेर जान्छौं । यसमा कुनै दुईमत छैन’–उनले भने ।
एकतापछिको पार्टीको राजनीतिक कार्यदिशा आलंकारिक राजसंस्था र सनातन हिन्दूराष्ट्र बनाएर जाने विषयमा पनि कुरा चलेको उनले जनाए ।
डा. लोहनीले भने–‘कतिपय पार्टीका नेताहरुले पनि यो धारणा राखेका छन् ।’
कमल थापा नेतृत्वको राप्रपा, पशुपतिशमशेर राणा नेतृत्वको राप्रपा प्रजातान्त्रिक र एकीकृत राप्रपाबीच पार्टी एकताका लागि पछिल्लो समय छलफल तीव्र छ ।









प्रतिक्रिया दिनुहोस्