अक्कल कुँवर/दिलिप पौडेल (इमेज)
काठमाडौं, कात्तिक २२ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकले विजयकुमार गच्छदारलाई उपसभापतिमा मनोनीत गरेपछि पार्टीभित्र विवाद देखिएको छ ।
विधि र प्रक्रिया मिचिएको भन्दै संस्थापनइतरका केही नेताले मनोनयनको विरोध गरेका छन् ।
तर, त्यही विषयलाई लिएर विरोधलाई चर्काउने पक्षमा भने यो पक्ष पनि देखिएको छैन ।
कुनैबेला नेपाली कांग्रेसमा निकै प्रभावशाली नेतामध्येमा गनिने विजयकुमार गच्छदारले पहिलो संविधानसभाअघि कांग्रेस परित्याग गरेका थिए ।
परित्याग गरेको ११ वर्षपछि गच्छदार पुनः कांग्रेसमा फर्किएर उपसभापति बनेका छन् ।
गत वर्ष असोजमा कांग्रेस र तत्कालीन मधेसी जनअधिकार फोरम लोकतान्त्रिकबीच एकीकरण हुँदा भएको सहमतिअनुसार गच्छदारलाई उपसभापतिमा मनोनीत गरिएको हो । तर, गच्छदारको मनोनयन सर्वसम्मत् भने हुन सकेन ।
केन्द्रीय समितिको बैठकमा औपचारिकरुपमा विरोध नजनाएपनि अर्जुननरसिंह केसी, प्रकाशमान सिंह, सुजाता कोइरालालगायतका केही नेताले सार्वजनिक कार्यक्रममै मनोनयन प्रक्रियाको विरोध गरेका छन् ।
नेता अर्जुननरसिंह केसीले व्यक्ति विशेषप्रति नभइ विधि र प्रक्रिया मिचेकोप्रति आफूहरुको विरोध रहेको बताए ।
तर, संस्थापनइतरकै प्रभावशाली नेता एवं सभापति शेरबहादुर देउवाका कटु आलोचक केन्द्रीय सदस्य डा. शेखर कोइरालाले मनोनयनको निर्णय राजनीतिक भएकाले विरोध गर्नु उचित नभएको टिप्पणी गरे ।
सभापति देउवानिकट केन्द्रीय सदस्य रमेश लेखकले राजनीतिक आवश्यकता र पूर्वसहमतिअनुसार मनोनीत गरिएको जिकिर गरे ।
गच्छदारको आगमनले आफ्नो राजनीतिक भविष्य समाप्त हुने भयले केही नेताले सार्वजनिक कार्यक्रममा विधि र प्रक्रिया मिचिएको भन्दै विरोध गरिरहेका छन् ।
तर, पार्टीको आगामी महाधिवेशनमा सभापतिको दाबेदारको आकांक्षा पालेका पौडेल र उनको पक्ष यो मुद्दालाई थप चर्काउने पक्षमा भने छैन ।
अहिलेपनि गच्छदारको नेपाली कांग्रेसभित्र बलियो पकड रहेको र आगामी महाधिवेशनमा गच्छदारलाई आफ्नो पक्षमा ल्याउन सकिने सपना देखेको पौडेलपक्ष विरोधलाई थप चर्काउने पक्षमा भने छैन ।









प्रतिक्रिया दिनुहोस्