२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


कांग्रेसले आर्थिक नीति परिमार्जन गर्दै, कस्तो बन्ला अबको आर्थिक नीति ! (भिडियो)


0
Shares

सरोज अधिकारी 

काठमाडौं, कात्तिक २२ । नेपाली कांग्रेसले आर्थिक नीति परिमार्जन गर्ने तयारी गरेको छ । महासमितिको बैठकबाट पारित गरी परिमार्जित आर्थिक नीति अबलम्बन गर्ने तयारी कांग्रेसको छ । त्यसका लागि कांग्रेसले विभिन्न क्षेत्रका व्यक्तिसँग परामर्शसमेत गरेको छ ।

संस्थापक नेता बिपी कोइरालाले प्रतिपादन गरेको समाजवादलाई कडाइका साथ कार्यान्वयन गर्न र सोही अनुसारको आर्थिक नीति अबलम्बन गर्न  कांग्रेसलाई सुझाव आएको छ । अधिकांश जनता कृषिमै निर्भर भएकाले सोहीअनुसारको आर्थिक नीति अबलम्बन गर्न कांग्रेसका कार्यकर्ता र तथा व्यवसायीहरुले सुझाव दिएका छन् ।

उनीहरुले लागत कम र उत्पादन बढी हुने गरी आर्थिक नीति अबलम्बन गर्नसमेत सुझाव दिएका छन् ।

पार्टी सहमहामन्त्री डा. प्रकाशशरण महत नेतृत्वको समितिले मुलुकका प्रमुख चार शहरमा छलफल गरी आर्थिक नीतिका लागि सुझाव लिएको थियो । त्यस क्रममा कार्यकर्ता तथा व्यवसायीहरुले कांग्रेसले लिएको उदारताका कारण मुलुकका अहिले विकासको लहर आएको भए पनि केही विषयहरु तोकेरै नयाँ रणनीति बनाउन सुझाव दिएका छन् ।

समितिका संयोजक सहमहामन्त्री डा. महत देशैभरबाट कम लागतमा बढी उत्पादन लिन सकिने कृषि पद्धतिमा जाने उपाय आर्थिक नीतिले समेट्नुपर्ने सुझाव आएको बताउँछन् ।

व्यवसायीहरुले भने पछिल्ला दिनमा राज्यले लगाएको करप्रति असन्तुष्टि जनाएका छन् । करको दर बढ्दा विदेशी लगानी भित्रनेभन्दा पनि बाहिरिँदै गएको गुनासो व्यवसायीको छ ।

कर प्रणालीलाई व्यवस्थित गर्दै विदेशीएका युवालाई स्वदेशमै रोजगारी सिर्जना गर्ने गरी पर्यटन प्रवर्द्धनमा लाग्ने गरी नीति बनाउन पनि कांग्रेसलाई सुझाव आएको छ ।

‘समृद्ध नेपाल’ सबै राजनीतिक दलको नारा बनेको छ । निर्वाचनताका मीठो नारा लगाउने तर सत्तामा पुगेपछि आफ्ना सबै प्रतिबद्धता भुल्ने राजनीतिक दलको रोग रहँदासम्म कागजमा बन्ने कुनै नीतिले पनि मुलुक समृद्ध बन्न सक्दैन । नेपाली कांग्रेसले अबलम्बन गर्न लागेको आर्थिक नीति कागजमा मात्र सीमित नहोस् ।

भिडियो रिपोर्ट हेर्नुहोस्