१० चैत्र २०७९, शुक्रबार | Fri Mar 24 2023


बौद्ध–जोरपाटी सडकमा सधैं सास्ती (भिडियो रिपोर्ट)


0
Shares

नारायणी लामिछाने/प्रदीप तामाङ/रक्षा बज्राचार्य (इमेज)

काठमाडौं, असार ११ । घाम लाग्दा धुलाम्मे र पानी पर्दा हिलाम्मे हुने बौद्ध–जोरपाटी सडकखन्डको अवस्था अहिलेपनि उस्तै छ । सरकारले भने ठेकेदार कम्पनीको म्याद थपेको थप्यै गरेको छ ।

विगतका बर्खाहरुमा झैं यसपटक पनि यो सडकको अवस्थामा कुनै परिवर्तन भएको छैन ।

पानी पर्नासाथ धान रोप्न हिल्याएको खेतझैं हुने र घाम लाग्नासाथ मान्छे ढाक्नेगरी धुलो उड्ने यो सडकको नियतिजस्तै बनिसकेको छ ।

बौद्ध–जोरपाटी सडकको बीच–बीचमा परेका खाल्डा–खुल्डी र ती खाल्डा–खुल्डीमा वर्षयाममा परेको पानी जमेपछि त झनै कठिनाइ हुने गर्दछ ।

सडक निर्माणको जिम्मा पाएको ठेकेदार कम्पनीले सडकमा केही दिनका लागि सफा देखाउन माटो ल्याएर हाल्ने तर त्यही माटोले हिलो र धुलो बढाउँदा झन् कस्ट भोग्नुपरेको स्थानीयहरु गुनासो गर्छन् ।

यस सडकखन्ड निर्माणकार्यको जिम्मा हिराचन एन्ड कम्पनीले तीन वर्षअघि नै १ अर्ब ४५ करोड रुपैयाँमा पाएको हो । सम्झौताअनुसार गत माघमै यो सडक बनिसक्नुपर्ने थियो ।

तर, अहिलेसम्म ५ प्रतिशत पनि काम नभएको गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसे बताउँछन् ।

निर्माण कम्पनीले जनताको आँखामा छारो हाल्ने काममात्रै गरिरहेको भन्दै उनले समस्या समाधानका लागि अब सरकारलाईसमेत दबाब दिने तयारी गरिरहेको बताए ।

यो सडकको यस्तो अवस्था रहनुमा निर्माण कम्पनीकोमात्रै दोष पनि देखिँदैन ।

मापदन्डअनुसार दायाँ–बायाँ ११/११ मिटर बाटो चौडा बनाउन स्थानीयले नै अवरोध गर्दै आएको काठमाडौं उपत्यका सडक विस्तार योजनाको भनाइ छ ।

सडक बन्न नसक्दा यो क्षेत्रमा ढल व्यवस्थापनलगायतका कामहरु पनि हुन सकेको छैन । जसका कारण वर्षाको पानीलेसमेत निकास नपाउँदा सडकमै ताल पर्ने गरेको छ ।

भिडियो हेर्नुहोस्