१६ असार २०८२, सोमबार | Mon Jun 30 2025


छुवाछूत गर्नेलाई कडा कारबाही : गृहमन्त्री


0
Shares

जातीय भेदभाव तथा छुवाछूत उन्मूलन १२औं राष्ट्रिय दिवसका अवसरमा राष्ट्रिय दलित आयोग, उपेक्षित, उत्पीडित र दलितवर्ग उत्थान विकास समिति, दलित महिला उत्थान संघ (एड्वान), जागरण मिडिया सेन्टरलगायत संघसंस्थाद्वारा सोमबार राजधानीमा आयोजित ‘जातीय भेदभाव तथा छुवाछूतको वर्तमान अवस्था र समाधानको उपाय’ विषयको अन्तरक्रियामा मन्त्री थापाले भने–‘जातीय भेदभाव तथा छुवाछूत अन्त्य गर्नेबारे सरकारले देशव्यापी अभियान नै चलाउँदैछ । जातीय आधारमा छुवाछूत वा विभेद भएकोबारे मलाई जानकारी दिनुहोस्, म सरकारको तर्फबाट हदैसम्मको कारबाही गर्नेछु ।’

आर्थिक, सामाजिक र सांस्कृतिकरुपमा सदियौंदेखि पछाडि पारिएको दलित समुदायको समस्या समाधान गर्दै सामाजिक न्यायमा आधारित समतामूलक समाज निर्माण गर्ने वर्तमान सरकारको योजना रहेको जानकारी उनले दिए ।

नेपाल कम्युनिष्ट पार्टीका नेता तिलक परियारले अहिले पनि अन्तरजातीय विवाह गरेको वा पानी छोएको निहुँमा दलित युवाको हत्या गरिएको र दलित समुदाय गाउँबाटै विस्थापित हुनुपरेकामा गुनासो गरे ।

नेकपाका अर्का नेता जीतु गौतमले जनसंख्याका आधारमा राज्यका हरेक संरचनामा दलित समुदायको सहभागिता हुनुपर्ने माग गरे ।

एड्वानका अध्यक्ष पम्फा परियारले समग्रमा दलित समुदायभित्र पनि दलित महिला सबैभन्दा बढी उत्पीडनमा परेकाले उनीहरुलाई राज्यले विशेष व्यवस्था गर्नुपर्नेमा जोड दिइन् । रासस