२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


यी हुन् गोली हानेर साढे ९ लाख लुट्ने लुटेरा, यस्तो छ घटना (चार तस्वीर)


0
Shares

मंगलबार जिल्ला प्रहरी कार्यालय धनगढीमा पत्रकार सम्मलेन गरी प्रहरीले उनीहरुलाई सार्वजनिक गरेको हो ।

जेठ १३ गते बिहान सवा १० बजेतिर सिद्धार्थ बैंकबाट पैसा झिकेर आफू कार्यरत् आइएमईतर्फ आउँदै गरेका निर्मल कार्कीलाई गोली प्रहार गरी उनको साथमा रहेको ९ लाख ५० हजार रुपैयाँ लुटेरा फरार भएका थिए ।

प्रहरीले घटनाका ‘योजनाकार’सहित संग्लन पाँचजना, पेस्तोल, मोटरसाइकल र साढे ५ लाख रुपैयाँ पनि पत्रकार सम्मेलनमा सार्वजनिक ग¥यो ।

प्रहरीले कन्चनपुरको बेलौरी नगरपालिकाका–६, रिचाहाका ३० वर्षीय उग्रसेन राना, कन्चनपुरकै कृष्णपुर नगरपालिका–६ का २६ वर्षीय ‘कल्लु’ भनिने कालु राना, धनगढी उपमहानगरपालिका–६, जाइका ३१ वर्षीय राजकुमार चौधरी, धनगढी उपमहानगरपालिका १३, कैलाली गाउँका २८ वर्षीय रामप्रवेश राना र धनगढी उपमहनगरपालिका–६ का १८ वर्षीय वीरु चौधरीलाई सार्वजनिक गरेको हो ।

घटनामा प्रयोग भएको ‘मेडइन युएसए’ लेखिएको एउटा पेस्तोल र सोमा लाग्ने ६ राउन्ड गोली, घटनामा प्रयोग भएको अपाचे मोटरसाइकलसहित लुटिएको ९ लाख ५० हजारमध्ये ५ लाख ४८ हजार ६०० रुपैयाँ प्रहरीले बरामद गरेको संघीय प्रहरी कार्यालय सेतीका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक हरिराज वाग्लेले बताए ।

उनकाअनुसार पक्राउ परेकाहरु धनगढीलगायत आसपासका क्षेत्रमा लामो समयदेखि आपराधिक क्रियाकलापमा संग्लन रहेको र उनीहरुले विभिन्न घटना घटाउँदै आएको पनि खुलेको छ ।

यसरी खुल्यो घटना
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक विनोद घिमिरेकाअनुसार घटना घटेको तेस्रो दिन राजकुमार चौधरीलाई नियन्त्रणमा लिइ सोधपुछ गरेपछि घटनाकाबारेमा विस्तृत् खुलेको हो ।

चौधरीले गोली हान्ने व्यक्ति उग्रसेन राना भएको र रानाले कल्लु राना पनि संलग्न भएको बताएपछि घटना खुल्दै गएको थियो ।

उनले जेठ १३ गते घटनामा गोली प्रहार गर्ने र मोटरसाइकल चलाउने उग्रसेन राना र पैसाको झोला लुट्ने कल्लु राना रहेको बताए ।

घटनामा संलग्न मुख्य आरोपित उग्रसेन राना र कल्लु रानालाई मोटरसाइकल र हतियार उपलब्ध गराउने राजकुमार चौधरी रहेको प्रहरीले जानकारी दिएको छ ।

चौधरीले यसअघि पनि आपराधिक गतिविधिका लागि रानाद्वयलाई मोटरसाइकल र हातहतियार उपलब्ध गराउने गरेको खुलेको प्रहरी उपरीक्षक घिमिरेले बताए ।

पक्राउ परेका पाँचैजनालाई हातहतियार तथा खरखजाना, ज्यानमार्ने उद्योग र जबर्जस्ती चोरीको मुद्दा लगाइने प्रहरीले जनाएको छ ।