
सरकारले आगामी दसैैंभित्र पानी वितरण गर्ने भने पनि अहिले आयोजनाको काम ठप्प रहेको छ ।
जसका कारण ०७५ सालभित्र पनि काठमाडौंवासीले मेलम्चीको पानी पिउन नपाउने अवस्था बनेको हो ।
विगत केही दिनयता मेलम्ची खानेपानी आयोजनाका कामदारहरुले काम बन्द गरेर बसेका छन् ।
गत चैत २९ मा आयोजनाले सिन्धु अडिटबाट ग्याल्थुमसम्मको ७.४ किलोमिटर सुरुङखन्डको मध्यभागमा ‘ब्रेक थ्रु’ गरेसँगै आगामी दसैंमा पानी वितरण हुने सम्भावना बढेको थियो ।
९० प्रतिशत काम सम्पन्न भइसकेकाले सरकारी अधिकारीहरुले पनि दसैंमा पानी वितरण हुने बताएका थिए ।
तर, मेलम्चीको ठेकेदार कम्पनीले बढी रकम मागेर काम रोकेपछि केही दिनयता आयोजनामा कुनैपनि काम भएको छैन ।
आयोजनाका कार्यकारी निर्देशक रामचन्द्र देवकोटाले ठेकेदारहरुलाई सहमतिअनुसार भुक्तानी दिइसकेको दाबी गर्छन् ।
‘ओपन कट’ निर्माणका लागि २८ करोड रुपैयाँ दिने सहमति भएकोमा ठेकेदार कम्पनीले निर्धारित् समयभन्दा ५७० दिन बढी काम गरेको भन्दै १ अर्ब ६५ करोड रुपैयाँ भुक्तानी पाउनुपर्ने दाबी गर्दा समस्या आएको हो ।
कार्यकारी निर्देशक देवकोटाले निर्माण कम्पनीसँगको विवाद समितिमा पुगिसकेकाले समितिबाट जस्तो निर्णय आउँछ, सोहीअनुसार अघि बढ्ने बताए ।
उनले आवश्यक परे ठेकेदार कम्पनी परिवर्तन गरेर भएपनि दसैंसम्ममा पानी वितरण गर्ने प्रयास भइरहेको बताए ।
प्रतिक्रिया दिनुहोस्