Logo ५ श्रावण २०८३, मंगलबार | Wed Jul 22 2026


निर्माण व्यवसाय क्षेत्रको एकाधिकार तोडिन्छ : प्रचण्ड


0
Shares

निर्माण व्यवसायीको प्रतिनिधिमन्डलसँग पेरिसडाँडामा शनिबार भएको छलफलमा अध्यक्ष प्रचण्डले भने–‘काम रोक्ने तर समयमै काम सम्पन्न नगर्ने समस्या छ । हामी समृद्धि र विकासको यात्रामा छौं । ठेक्का लिएर काम सम्पन्न नगर्ने प्रवृत्तिप्रति तपाइँहरु पनि सचेत हुनुहोला ।’

‘सरकार निजी क्षेत्रलाई निरुत्साहित गर्ने पक्षमा छैन’–प्रचण्डले भने–‘साना निर्माण व्यवसायीले काम नपाउने र ठूला व्यवसायीले काम होल्ड गर्दा विकासका काम रोकिएका छन् । हाम्रो उद्देश्य विकास र समृद्धिको यात्रालाई द्रुतगतिमा अघि बढाएर जनताको अपेक्षा पूरा गर्नु हो ।’

विकास, समृद्धि र सुशासन नै आफ्नो सपना भएको अध्यक्ष दाहालले बताउनुभयो । उनले भने–‘अबको युग विकासको युग हो, सुशासनको युग हो, समृद्धिको युग हो । हामीलाई त्यसबाट दायाँबायाँ हुने छुट छैन ।’

उनले अनावश्यकरुपमा बाहिर के प्रचार गरिन्छ, त्यतातिर विल्कुल ध्यान नदिएको र विकास, समृद्धि, सुशासन नै आफ्नो लक्ष्य भएकाले त्यसमा इमान्दार रहेको तथा दृढताका साथ अघि बढ्ने स्पस्ट पारे ।

उनले सरकारले व्यवसायीलाई काम गर्ने वातावरण दिनुपर्ने र व्यवसायीले पनि सम्झौताअनुसारको काम गर्नुपर्ने बताए ।

उनले भने–‘राज्य पनि कानुनबमोजिम चलोस्, व्यवसायीले पनि सम्झौताअनुसार काम गरुन्, त्यसले बल्ल देश बन्छ ।’

भेटमा व्यवसायीले ठूला ठेकेदारले मेचीदेखि महाकालीसम्म सबै काम लिएर गरेर राखेको गुनासो गरे ।

‘सरकारले साना व्यवसायीलाईमात्र दबाब दिएको छ, ठूला व्यवसायीका कारण देशको विकास लथालिंग छ, त्यतातिर सरकारको ध्यान जाओस्’–एक व्यवसायीले भने ।

‘आफूलाई ठूला बताउने निर्माण व्यवसायीले देशभरि ठेक्का लिएर काम गरेका छैनन् । यी ६ ओटा कम्पनीले ठेक्का होल्ड गर्ने, काम नगर्ने गर्दा देश बर्बाद भयो’–नेपाल राष्ट्रिय निर्माण व्यवसायी संघका वरिष्ठ उपाध्यक्ष नवराज खड्काले भने ।

व्यवसायीले ठूला कम्पनीले काम होल्ड गरेर राख्दा त्यसको अपजस आफूहरुले बेहोर्नुपरेको बताए ।

सार्वजनिक खरिद ऐनका कारण ठूला ठेकेदार मोटाएको व्यवसायीले गुनासो गरेका थिए । रासस