२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


लोकतान्त्रिक बिचारधारा राख्ने पार्टीहरुवीच एकता आवश्यक: गोपालमान श्रेष्ठ


0
Shares

काठमाडौं, जेठ २७ । नेपाली कांग्रेसका केन्द्रिय सदस्य नेता श्रेष्ठले पार्टीले पराजय भोगेको अवस्थामा एकआपसमा गालीगलौजमा उत्रनु भन्दा पनि कसरी हुन्छ, कमी कमजोरी मिलाएर अगाडी बढ्नुपर्नेमा जोड दिएका छन् ।

नेपाली विद्यार्थी संघ स्याङ्गजा–काठमाडौं सम्र्पक समितिको पहिलो अधिवेशनको उदघाटन गर्दै उनले निर्वाचनमा २ पार्टीहरु एक भएर चुनाव लडेको र आफ्नैबाट समेत अन्तर्घात भएकाले कांग्रेसले पराजय भोग्नुपरेको श्रेष्ठको भनाइ थियो ।

यदि एमाले र माओवादी एक्ला एक्लै चुनाव लडेको भए माओवादीले १० सिट पनि नजित्ने ठोकुवा पनि उनले गरे । पार्टीले भोगेको पराजयप्रति नेता श्रेष्ठले हारको जिम्मा सभापतिले मात्र नभई सबैले लिनुपर्ने जिकीर समेत गरे ।

पूर्व सांसद एवं संविधान सभा सदस्य समेत रहेका श्रेष्ठले कम्युनिष्टहरु एक भए भनेर आतिनुपर्ने परिस्थीति नरहेको भन्दै जसरी कम्युनिष्टहरु एक भए त्यसरी नै अब लोकतान्त्रिक विचारधारा राख्ने अन्य साना दलहरुलाई पनि अब एकजुट बनाउन काँग्रेसले भूमिका खेल्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रिय सदस्य तथा युवा नेता धनराज गुरुङले कांग्रेसका आदरणीय नेताहरु वीपी., गणेशमान र कृष्णप्रसाद लगायतका नेताहरुको मागर्दशन बिर्सदा पार्टीले पराजय भोग्नुपरेको स्मरण गराए ।

काँग्रेस स्याङ्गजाका सभापति कमल प्रसाद पंगेनीले निर्वाचनमा हारको दोष सबै नेताहरुले लिनुपर्ने भन्दै स्याङ्गजामा चुनाव हारेको जिम्मेवारी लिन आफू तयार रहेको उल्लेख गरे ।

हालसालै सरकारलाई समर्थन गरेका उपेन्द्र यादवप्रति संकेत गर्दै खाली आफ्नो स्वार्थ र जायज वा नाजायज माग पुरा गर्न मात्र सरकारमा गएको आरोप लगाए ।

कार्यक्रममा पूर्व सांसद एवं संविधान सभा सदस्य मोहन पाण्डेले पार्टीमा भएका असन्तुष्ट कुराहरुलाई मिलाउनुका साथै सबैका कमीकमजोरीका वीचमा बहस गरेर टुंगाउनुपर्ने बताए ।

कार्यक्रममा नेबिसंघका सभापति नैनसिंह महर, उपाध्यक्षहरु डिल्लीराम सुवेदी र पुष्प शाही, महामन्त्रीहरु आनन्दराज त्रिपाठी, कुन्दन काफ्ले र सरोज कुमार थापा, नेपाली कांग्रेस स्याङ्गजाका प्रवक्ता इन्द्र गोदार, नेपाल महिला संघकी उपाध्यक्ष सरस्वती तिवारी, नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि गुरु भट्टराई, कांग्रेस स्याङ्गजा–काठमाडौं सम्पर्क समितिका सभापति देवी प्रसाद अर्याल, नेबिसंघ स्याङ्गजाका सभापति अजित क्षेत्री, नेविसंघ पूर्व केन्द्रिय सदस्य युवराज पाण्डेय लगायतका नेताहरुले सर्वसम्मत नेतृत्व चयन गर्न सुझाव दिएका थिए ।

२०७० सालमा दिपक न्यौपानेको संयोजकत्वमा स्थापना गरिएको यस स्याङ्गजा–काठमाडौं सम्पर्क समितिको नयाँ नेतृत्व चयनका लागि जिल्ला तथा केन्द्रिय स्तरका नेताहरुको एक टिम बनाइएको छ जसले ३५ सदस्यीय नयाँ नेतृत्व चयन गर्ने छ ।