नगरप्रमुख श्रेष्ठलाई आक्रमण गर्ने कारागार चलान • Image Khabar Image Khabar


नगरप्रमुख श्रेष्ठलाई आक्रमण गर्ने कारागार चलान


Imagekhabar
२८ जेष्ठ २०७५, सोमबार २०:३४

नगरप्रमुख श्रेष्ठलाई आक्रमण गर्ने कारागार चलान

गत वैशाख ८ गते मध्यपुरथिमि गठ्ठाघरस्थित आफ्नै निवासमा आक्रमणमा परेका श्रेष्ठलाई आक्रमण गरी घाइते बनाउने कुशल बोगटी र सविन लामालाई जिल्ला अदालतका न्यायाधीश भोजराज शर्माकोे इजलासले थुनामा राख्न आदेश दिएपछि दुवैलाई डिल्लीबजार कारागार चलान गरिएको अदालतका इजलास अधिकृत कमल महतले जानकारी दिए ।

कालिकोट, रुप्सा–५ घर भइ भक्तपुरको सल्लाघारी बस्ने ३५ वर्षीय बोगटी नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका भक्तपुर जिल्ला सेक्रेटरी र रामेछाप, दोरम्बा गाउँपालिका–२, मानेडाँडा घर भइ सानोठिमी बस्ने लामा सोही पार्टीका जिल्ला सदस्य हुन् ।

आक्रमणपछि फरार रहेका मुख्य योजनाकार एवं आक्रमणकारी बोगटीलाई प्रहरीले यही जेठ १ गते पक्राउ गरेको र आक्रमणमा संलग्न अन्य व्यक्तिको खोजी गरिरहेको महानगरीय प्रहरी वृत्त थिमिका प्रमुख प्रज्ज्वलमान महर्जनले जानकारी दिए ।

प्रहरीले अभियुक्त दुवैलाई ज्यान मार्ने उद्योगअन्तर्गत् मुद्दा चलाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्