
डिबी विष्ट/ईमेज:
बझाङ, जेठ २९ । बझाङमा यार्सागुम्बा टिप्ने सिजन सुरु भएपछि विद्यालय बन्द भएका छन् ।
नयाँ शैक्षिक वर्षको पढाइ सुरु नहुँदै जिल्लाका ५० भन्दा बढी विद्यालय ३ महिनाका लागि बन्द भएपछि सरकारले चलाएको देशव्यापी भर्ना अभियानले पनि गिज्याइरहेको महशुस हुन थालेको छ ।
कोही बालबालिका आधारभूत शिक्षाबाट विमुख हुन नपरोस् भन्ने हेतुले सरकारले देशव्यापी भर्ना अभियान चलायो ।
नेता, मन्त्रीदेखि प्रधानमन्त्रीले समेत अभिभावक बनेर बालबालिकालाई भर्ना गराएर चर्चामा त आए तर बझाङ लगायत केही हिमाली जिल्लामा भने विद्यार्थीहरु यार्सागुम्बा टिप्न लेकतिर उक्लेपछि विद्यालय विद्यार्थीविहीन बनेका छन् ।
विद्यालय आउन छाडेपछि बझाङका ५० भन्दा बढी विद्यालय ३ महिनाका लागि बन्द भएका छन् ।
दुर्गम हिमाली क्षेत्रका विद्यालयहरु बैशाखदेखि असारसम्म ३ महिना र हिउँदमा मंसिरदेखि फागुनसम्म जाडोका कारण बन्द हुने गरेका छन् ।
त्यस्तै दशैतिहारजस्ता महत्वपूर्ण चाड र अन्य बिदामा विद्यालय बन्द हुँदा यहाँका विद्यार्थीले ४ महिना पनि राम्रोसँग पढ्न पाउदैनन् ।
तर उनीहरुले पनि त्यही पाठ्यक्रम पढ्नुपर्छ जुन पाठ्यपुस्तक अरु ठाउँका विद्यार्थीले १ वर्षमा पढेर सिध्याउँछन् ।
अत्याधिक चिसोका कारण धेरैजसो बालबालिका र वृद्धहरु बिरामी पर्ने गर्छन् त्यस्तै कतिपयले त ज्यानै समेत गुमाउने गर्छन् ।
पढ्ने सबैजसो विद्यार्थी यार्सागुम्बा टिप्न गएकोले विद्यालय बन्द भएको स्थानीय रिदम सिंह बताउँछन् ।
आर्थिक अभावलाई टार्न ७÷८ वर्षका बालकदेखि ७० वर्षका वृद्धहरु पनि यार्सागुम्बा टिप्न जानुपर्ने बाध्यता रहेकाले स्कुल बन्द भएको विद्यार्थी प्रमिला आग्रीको गुनासो छ ।
चैतको अन्तिम साताबाट असार मसान्त यार्सागुम्बा टिप्ने सिजन भएकाले विद्यार्थीसँगै शिक्षक शिक्षिका समेत यार्सागुम्बा टिप्न जाने गरेकाले विद्यालय बन्द भएको मष्टा गाउँपालिकाका वडाध्यक्ष धनबहादुर बोहोराको भनाइ छ ।
विद्यालयको पहुँच पनि कम हुनु र भएका विद्यालय पनि अधिकांश समय बन्द हुनु आफैँमा चिन्ताजनक छ । विद्यार्थीले पढ्न नपाएपछि सरकारले शिक्षामा गरेको लगानीको पनि उपहास भइरहेको छ ।
गरिबी र विपन्नताका कारण आर्थिक जोहो गर्नुपर्ने बाध्यता भएपनि अभिभावक र सरोकारवाला निकायले मनन गरी विद्यार्थीलाई जसरी पनि पढाइको वातावरण मिलाउनुपर्ने देखिन्छ ।
प्रतिक्रिया दिनुहोस्