१८ असार २०८२, बुधबार | Wed Jul 2 2025


आयुर्वेद विश्वविद्यालय स्थापना गर्ने गृहकार्य : स्वास्थ्यमन्त्री


0
Shares

काठमाडौं, कात्तिक १९ । उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले आयुर्वेद उपचार पद्दतिको विकास र विस्तार गर्न आयुर्वेद विश्वविद्यालयको स्थापना गर्ने गृहकार्य भइरहेको बताएका छन् ।

सोमबार राष्ट्रिय आरोग्य तथा धन्वन्तरि जयन्ती र आयुर्वेदिक चिकित्सालय नरदेवीको शतवार्षिकोत्सव कार्यक्रममा उनले सो कुरा बताएका हुन् ।

स्वास्थ्यमन्त्री यादवले नेपालका जडीबुटीले बजार पाउन नसकेको भन्दै यसको उचित व्यवस्था गरिने उल्लेख गरे ।

कार्यक्रमका अरु वक्ताहरुले आयुर्वेद चिकित्सा क्षेत्रमा दक्ष जनशक्तिको अभाव रहेको भन्दै सरकारको ध्यानाकर्षण गराएका थिए ।

धन्वन्तरि जयन्ती

आयुर्वेदका प्रवर्तक धन्वन्तरिको उत्पत्ति भएको सम्झनामा सोमबार देशभर विभिन्न कार्यक्रम गरी धन्वन्तरि जयन्ती मनाइँदैछ ।

देव र असुर मिली समुन्द्र मन्थन गर्दा विभिन्न रोग निवारणका लागि कात्तिक कृष्ण त्रयोदशीकै दिन अमृत कलश लिएर धन्वन्तरिको उत्पत्ति भएको वैदिक हिन्दूशास्त्रमा उल्लेख छ ।

उनले पृथ्वीमा आएर आयुर्वेदिक उपचार पद्दतिबारे ज्ञान फैलाएको विश्वासमा धन्वन्तरि दिवस मनाउन थालिएको हो ।

वि.सं. १९७४ सालमा काठमाडौंको नरदेवीमा आयुर्वेद क्याम्पसको स्थापना भएपछि नेपालमा विधिवतरुपमा धन्वन्तरि जयन्ती मनाउन थालिएको थियो ।

आयुर्वेद क्षेत्रका व्यक्तिको पहलमा २०५६ सालदेखि धन्वन्तरि जयन्तीको दिनलाई आरोग्य दिवसकारुपमा पनि मनाउन थालिएको छ ।