Logo ३० असार २०८३, मंगलबार | Tue Jul 14 2026


सरकारको काम अब पूरै ‘स्पीड’मा चल्छ : दाहाल


0
Shares

बुटवल, कात्तिक १७ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले सरकारले अब तीव्रगतिमा काम गर्ने बताएका छन् ।

शनिबार बुटवलमा नेकपा रुपन्देहीले गरेको शुभकामना आदान–प्रदान कार्यक्रममा अध्यक्ष दाहालले सरकार गठनपछिको केही समय अप्ठ्यारो रहेको भन्दै अब सजिलो परिस्थिति आएकाले पूरै शक्तिका साथ काम गर्ने बताए ।

केही समयअघिसम्म सरकारको काम ‘एक नम्बर गियरमा गुडेको गाडी’जस्तै भएपनि अब भने पूरै ‘स्पीड’मा चल्ने उनको भनाइ थियो ।

अध्यक्ष दाहालले संविधान कार्यान्वयनका लागि आवश्यक कानुन बनाउन धेरै ध्यान दिनुपरेकाले कामको गति थोरै सुस्त भएको तर्क गर्दै अब सरकारले जनअपेक्षामा ध्यान दिने बताए ।

सरकारले काम गर्न सकेन भनेर प्रतिक्रियावादीहरुले ‘तिललाई पहाड’ बनाएको उनको टिप्पणी थियो ।

उनले अबको १० वर्षमा नेपाललाई एसियाकै समृद्ध मुलुकको सूचीमा उभ्याउने गरी सरकारले काम गर्ने दाबी पनि गरे ।

अर्को एक प्रसंगमा अध्यक्ष दाहालले पार्टी एकीकरणको प्रक्रिया टुंग्याउन केही ढिलाइ भएको स्वीकार्दै विवादका कारण ढिला भयो भनेर दुष्प्रचार भइरहेको जिकिर गरे ।

केही दिनभित्रै पार्टी एकीकरण सहज ढंगले सम्पन्न हुने उनले बताए ।

अध्यक्ष दाहालले सचिवालयका अरु सदस्यले दबाब दिएकै कारण प्रदेश नेतृत्व चयन वरिष्ठ नेता माधव नेपाल नभएको समयमा गरिएको जिकिरसमेत गरे ।

कार्यक्रममा नेकपाका महासचिव विष्णु पौडेलले देश विकासका लागि अब अरु कम्युनिस्ट पार्टीको मुख ताक्नु नपर्ने बताए ।