
चितवन, असार ११ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’को गृहजिल्ला चितवनमा दुई दिन देखी लगातार विद्यालय बन्द भएको छ ।
बन्द हड्तालविरुद्ध कडा रुपमा उत्रिएको सरकार चितवनको विद्यालय बन्द हुँदा भने कुनै ठोस् कदम चाल्न सकेको छैन् ।
जिल्ला नीजि विद्यालयहरु आइतबारदेखी बन्द छन् । नेपाल कम्युनिष्ट पार्टी (विप्लव) निकट अखिल (क्रान्तिकारी) ले चितवनका शैक्षिक संस्था अनिश्चितकालीन बन्दको आह्वान गरेपछि यहाँका निजी शिक्षण संस्था प्रभावित भएका हुन् ।
प्रहरीले आफ्ना विद्यार्थी नेतालाई पक्राउ गरेको विरोधमा अखिल (क्रान्तिकारी) चितवनले ७२ घण्टे अल्टिमेटम दिँदै अनिश्चितकालका लागि जिल्लाभरका शैक्षिक संस्था बन्दको आह्वान गरेको हो । विद्यार्थीको आह्वानपछि जिल्लाका निजी शैक्षिक संस्था बन्द रहेका छन् ।
क्रान्तिकारीका जिल्ला अध्यक्ष रमेश लामिछाने र सदस्य सरोज भट्टराईलाई क्रमशः रत्ननगरको शहीद स्मृति बहुमुखी क्याम्पस र माडी बहुमुखी क्याम्पसबाट पढिरहेको समयमा गैर न्यायिक ढंगबाट प्रहरी प्रशासनले गिरफ्तार गरेको भन्दै दुबै जनाको तत्काल रिहाइको माग गर्दै विद्यार्थी संगठनले बन्दको आह्वान गरेको हो ।
यसैबीच जिल्लाका विभिन्न शिक्षक तथा अभिभावक संगठनहरुले विद्यालय बन्दको विरोध गरेका छन् ।
नेपाल शिक्षक महासंघ चितवनले आज (सोमबार) एक विज्ञप्ती जारी गर्दै विद्यालय बन्दको विरोध जनाएको हो । विद्यालयलाई शान्ति क्षेत्र घोषणा गरिसकेको अवस्थामा परीक्षाको मुखमै विद्यालय निरन्तर बन्द हुनुले दुरगामी नकरात्मक असर पर्ने तर्फ सचेत रहन सम्बन्धित पक्षलाई आग्रह गरेको छ ।
विद्यार्थीका जायज माग पुरा गरि विद्यालयमा स्वच्छ शैक्षिक वातावरण तयार गर्दै नियमित पठनपाठनको वातावरण तयार पार्न सम्बद्ध सबै पक्षसंग महासंघले आग्रह गरेको छ ।
विज्ञप्तीमा नेपाल शिक्षक महासंघ, राष्ट्रिय समितिका सचिव ध्रुवराज पोखरेल, शिक्षक महासंघ चितवनका अध्यक्ष कोमलनाथ घिमिरे, नेपाल शिक्षक संघ चितवनका अध्यक्ष हरिप्रसाद कँडेल, नेपाल राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष दानबहादुर गुरुङ, एकीकृत अखिल नेपाल शिक्षक संगठन चितवनका अध्यक्ष हरिश्चन्द्र सुवेदी, अखिल नेपाल शिक्षक संगठन चितवनका अध्यक्ष हिरामणी चापागाई, अखिल नेपाल राष्ट्रिय शिक्षक संगठन चितवनका अध्यक्ष अम्बदर बहादुर थापा, नेपाल शिक्षक परिषद् चितवनका अध्यक्ष शिवप्रसाद न्यौपानेले हस्ताक्षर गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्