
काठमाडौं, कात्तिक १६ । छातीमा सङ्क्रमण देखिएपछि महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय, मनमोहन कार्डियोथोरासिक भाष्कुलर तथा ट्रान्सप्लाण्ट सेण्टरमा भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओली पूर्ण स्वास्थ्यलाभ गर्दै आज सरकारी निवास बालुवाटार फर्किएका छन् ।
छातीको सङ्क्रमण, ज्वरो र खोकी नियन्त्रणमा नआएपछि प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष ओली यही कात्तिक १२ गते बिहान ०४ः३० बजे उक्त अस्पतालमा भर्ना भएका थिए ।
प्रधानमन्त्री ओली पहिलेको जस्तै अवस्थामा आएको र उनले लिएको एण्टिबायोटिक पनि सकिएकाले अस्पतालले निवास फिर्ता पठाउने गर्ने निर्णय गरेको मुटुरोग विशेषज्ञ डा अरुण सायमीले बताए ।
बालुवाटार फर्किए पनि एक हप्तासम्म प्रधानमन्त्रीलाई चिकित्सकको निगरानीमा राखिने जनाइएको छ ।
प्रधानमन्त्री ओलीको उपचारमा पाँच दिनअघि मुटुरोग विशेषज्ञ डा सायमीसँगै डा दिव्यासिंह शाह तथा छातीरोग विशेषज्ञ डा सन्तकुमार दासको टोली संलग्न थियो ।
प्रधानमन्त्री ओलीले उपचारमा संलग्न चिकित्सकहरुप्रति विषेश आभार प्रकट गरेका छन् ।
यसैगरी प्रधानमन्त्री ओलीले आफ्नो स्वास्थ्यलाभको कामना गर्ने पार्टी नेता, कार्यकर्ता, कर्मचारी, सुरक्षा निकाय, शुभचिन्तक सबैलाई धन्यवाद दिएका छन् ।
५ दिन अस्पताल बसेका प्रधानमन्त्रीको उपचारमा ३६ हजार ७५७ रुपैयाँ खर्च भएको अस्पतालले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्