काठमाडौं, कात्तिक १६ । नयाँ शक्ति पार्टीको पूर्ण बैठकले ६ बुँदे निर्णय गरेको छ ।
कात्तिक १४ र १५ गते राजधानीमा बसेको बैठकले मंसिर १ गतेदेखि चैत ३० गतेसम्मका लागि ‘पाँच महिना, पाँच काम, पाँच परिणाम’को कार्ययोजना अघि सारेको छ ।
यस कार्ययोजना मुताविक पार्टी महाधिवेशन आयोजक कमिटीका सबै सदस्यहरु देशका ७७ जिल्लामा अभिप्रेरकका रुपमा परिचालित भई स्थानीय पार्टी अधिवेशन सम्पन्न गर्ने र पार्टीलाई वडा तहसम्म विस्तार गरिने नयाँ शक्ति पार्टीले जनाएको छ ।
सो पार्टीले पाँचथरको चिवा भन्ज्याङदेखि बैतडीको झुलाघाटसम्म १७६५ किलोमिटर लामो मध्य पहाडी लोकमार्ग जागरण यात्रा गर्ने पनि जनाएको छ ।
यो यात्रामा नयाँ आर्थिक क्रान्ति र समावेशी समृद्धिको मार्गचित्र, संविधानका अपूर्णता पूरा गर्न संविधान संशोधन, प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतीय प्रणाली र पूर्ण समानुपातिक संसद, स्थानीय तहहरुको सवलीकरण, प्रदेशहरुको पुनर्सीमांकन, सुशासनका लागि अख्तियार र कर्मचारीतन्त्रको पुनर्गठन, विदेशमा बस्ने नेपालीहरुको भोटिङ अधिकार लगायतका सवालमा बृहत जागरण अभियान सञ्चालन गरिने जनाइएको छ ।
त्यस्तै पार्टीको सचिवालयमा ३३ जना र हेडक्वार्टरमा ११ जना रहने निर्णय गरेको छ । नयाँ शक्ति पार्टीले केपी ओली नेतृत्वको सरकार पूर्ण रुपले असफल भएको निष्कर्ष पनि निकालेको छ ।









प्रतिक्रिया दिनुहोस्