Logo ३० असार २०८३, मंगलबार | Tue Jul 14 2026


कांग्रेसको चियापान कस्तो रह्यो ? के भने नेताहरुले ! (भिडियो)


0
Shares

काठमाडौं, कात्तिक १६ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विजया दशमी, दीपावली, नेपाल सम्वत्, छठलगायत पर्वका अवसरमा जलपान कार्यक्रम गरेको छ ।

कांग्रेस केन्द्रीय कार्यालय सानेपामा भएको कार्यक्रममा विभिन्न राजनीतिक दलका नेता, कूटनीतिक नियोगका प्रमुख, उच्चपदस्थ ब्यक्तिहरु तथा कांग्रेस कार्यकर्ताहरुको बाक्लो उपस्थिति थियो । 

२०३३ सालमा वीपी कोइराला स्वदेश फर्किएसँगै मेलमलिाप र एकताको नीतिसँग जोडेर कांग्रेसले हरेक दशैंको कोजाग्रत पूर्णिमाको दिन चियापान गर्ने परम्परा रहेकोमा यस पटक नेता चक्र बास्तोलाको निधनका कारण शुक्रबार चियापान कार्यक्रम आयोजना गरेको हो । पार्टी केन्द्रीय कार्यालय सानेपामा भएको जलपान कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल, महासचिव विष्णु पौडेल, पुर्व प्रधानमन्त्री एवं नेकपाका वरिष्ठ नेता झलनाथ खनाल, राजपा अध्यक्ष महन्थ ठाकुरसहित अध्यक्ष मण्डलका सदस्यहरु, मन्त्रीहरु राप्रपा र राप्रपा प्रजातान्त्रिकका अध्यक्ष लगायत राजनीतिक दलका नेता तथा कार्यकर्ताहरु सहभागी भएका थिए ।

दिउँसो १ बजेदेखि अपरान्ह ५ बजेसम्म चलेको चियापानमा भारत, अमेरिका, बेलायत, चीनलगायतका मुलुकका राजदुतहरुको पनि सहभागिता थियो । 

जलपान समारोहमा पत्रकारसँग कुरा गर्दै नेकपा अध्यक्ष पुष्पकमल दाहालले अहिले पनि राष्ट्रिय मेलमिलाप र एकता आवश्यक रहेको भन्दै कांग्रेसको चियापानले नेताहरुबीच मित्रताको भावना बढाउन सहयोग पु¥याएको बताए ।

यस्तै कांग्रेस सभापति शेरबहादुर देउवाले सत्ता पक्षले चाहे मेलमिलाप सम्भव हुने टिप्पणी गरे । कांग्रेस उपसभापति बिमलेन्द्र नीधिले कांग्रेसको चियापानले सबैलाई मेलमिलाप र एकताबाट नै अघि बढ्न सन्देश दिएको बताए ।

उपस्थित अन्य नेताहरुले पनि कांग्रेसले आफुलाई सुधार्दै र जनताको विश्वास जित्ने बाटोमा जाओस् भन्दै कांग्रेस नेताहरुलाई विरोधका लागि विरोध मात्र नभई रचनात्मक काम गर्न सुझाव दिएका थिए ।

विगत वर्षहरुको तुलनामा कांग्रेसको चियापान यस पटक व्यवस्थित देखिएको थियो । उच्च राजनीतिक नेतृत्व, कुटनीतिक नियोगका प्रमुख प्रतिनिधि र उच्च पदस्थ व्यक्तित्वलाई र सर्वसाधारणका लागि अलग अलग स्थानमा जलपानको व्यवस्था गरिएको थियो ।

मुल प्रवेशद्वारदेखि नै कांग्रेसका नेता कार्यकर्ताले पाहुनालाई स्वागत गरेका थिए भने पार्टीको इतिहास झल्काउने पुराना संघर्ष तथा नेताहरुको तस्बीर समेत राखिएको थियो ।

कांग्रेसले उपत्यका बाहिरका ७४ जिल्लामा पनि शुक्रबार नै चियापान कार्यक्रम गरेको छ ।

भिडियो हेर्नुहोस्