
विराटनगर, असार ११ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले यही असार मसान्तभित्र सबै स्थानीय तहले दरबन्दीअनुसार कर्मचारी पाउने बताएका छन् ।
विराटनगर विमानस्थलमा आज बिहान स्थानीय संचारकर्मीसँगको कुराकानीमा मन्त्री पण्डितले कर्मचारी अभाव खेपिरहेका स्थानीय तहमा असार मसान्तसम्म १० हजार कर्मचारी पठाउने तयारी भइरहेको जानकारी दिए ।
उनले असारसम्म प्रशासनिक अन्तिरिमकालिन अवस्था रहेको उल्लेख गर्दै त्यसपछिको समयमा यसप्रकारका अवस्थाबाट मुलुकले मुक्ति पाउने जानकारी दिए ।
मन्त्री पण्डितले स्थानीय तहमा प्रशासनिक प्रमुख पठाउने काम पुरा भएको, अफिसर लेवलका कर्मचारी पनि ७५ प्रतिशत पुरा भएको भन्दै सहायक स्तरका कर्मचारी पनि असार मसान्तभित्र पठाईसकिने बताए ।
सरकारले पठाएको स्थानमा नजाने कर्मचारीलाई मन्त्रालय गएर हाजिर गरेर बस्न कसैलाई छुट नदिने पनि मन्त्री पण्डितले बताए ।
प्रतिक्रिया दिनुहोस्