अक्कल कुँवर/भरत केसी (इमेज)
काठमाडौं, कात्तिक १३ । दुईतिहाइ बहुमतप्राप्त सरकारबाट आमनागरिकले राजनीतिक स्थीरता र समृद्धिकोे ठूलो अपेक्षा राखेका छन् ।
तर, सत्तारुढ दलका जिम्मेवार नेता र सरकारका मन्त्रीहरु सरकारलाई असफल बनाउन देशी–विदेशी शक्ति लागिरहेको दाबी गर्दै आइरहेका छन् ।
जिम्मेवार नेता र मन्त्रीबाट आइरहेका यस्ता अभिव्यक्तिप्रति राजनीतिक क्षेत्रका जानकारहरुले आश्चर्य प्रकट गरेका छन् ।
गत आइतबार चितवनको एक सार्वजनिक कार्यक्रममा सत्तारुढ दलका एकजना अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले सरकार र पार्टी एकीकरणलाई असफल बनाउन देशी–विदेशी शक्ति लागिरहेको दाबी गरे ।
तर, अध्यक्ष दाहालले स्वदेशी र विदेशी कुन शक्ति सरकार तथा पार्टी एकीकरण असफल बनाउन लागिपरे ? भन्नेचाहिँ खुलाएनन् ।
अध्यक्ष दाहालमात्र नभइ गृहमन्त्री रामबहादुर थापालगायतका मन्त्रीहरुले पनि पटक–पटक सार्वजनिकरुपमै सरकार र पार्टीविरुद्ध षडयन्त्र भइरहेको अभिव्यक्ति दिँदै आएका छन् ।
अध्यक्ष दाहाललेजस्तै उनीहरुले पनि कुन शक्तिले सरकार र पार्टीविरुद्ध षडयन्त्र गरिरहेको छ ? भनेर खुलाउन भने सकिरहेका छैनन् ।
सत्तारुढ दलका जिम्मेवार नेता र मन्त्रीहरुका यस्ता अभिव्यक्तिप्रति राजनीतिक विश्लेषकहरुले भने आलोचना गरिरहेका छन् ।
राजनीतिशास्त्रका प्राध्यापक एवं राजनीतिक विश्लेषक प्राध्यापक कपिल श्रेष्ठले जिम्मेवार नेता र मन्त्रीहरुका यस्ता अभिव्यक्ति गैरजिम्मेवारीपूर्ण र झुट भएको टिप्पणी गरे ।
प्राध्यापक श्रेष्ठले अर्थहीन अभिव्यक्ति दिनुभन्दा सरकार र जिम्मेवार नेताहरुले जनताका समस्या समाधान गर्नेतर्फ ध्यानकेन्द्रित गर्नुपर्ने सुझाव दिए ।









प्रतिक्रिया दिनुहोस्