१२ बैशाख २०८२, शुक्रबार | Sat Apr 26 2025


मलेसियामा सरकारले अन्तिम श्रम स्वीकृति बन्द गरेपछि विमानका यात्री घटे


0
Shares

काठमाडौं, असार १० । नेपाली कामदारको प्रमुख श्रम गन्तव्य मलेसियामा सरकारले अन्तिम श्रम स्वीकृति बन्द गरेपछि झन्डै एक महिनादेखि नयाँ कामदार जान रोकिएका छन् ।

पूर्वश्रम स्वीकृति लिएका तीन हजार कामदार पनि अन्तिम श्रम स्वीकृति नपाएपछि जान पाएका छैनन् ।

सरकारले एक महिनाअघि मलेसिया जाने कामदारलाई ‘सिन्डिकेट’ गर्दै आर्थिक भार पार्दै आएका चार संस्थालाई कारबाही थालेपछि मलेसिया जाने प्रक्रिया बन्द भएको हो ।

सरकारले मलेसियासँग श्रम सम्झौता भएपछिमात्र कामदार पठाउने भन्दै यथास्थितिमा कामदार नपठाउने अठोट लिँदै आएको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले मलेसियासँग श्रम सम्झौता भएपछिमात्र नेपाली कामदार मलेसिया जाने बताउँदै आएका छन् ।

नेपाल वैदेशिक रोजगार व्यवसायी संघले पूर्वस्वीकृति लिएर अन्तिम श्रम स्वीकृति लिन बाँकी कामदारको अवस्थाका विषयमा जानकारी संकलन गरिरहेको जनाएको छ ।

संघले अहिले तीन हजार कामदारले पूर्वस्वीकृति लिएको र अन्तिम श्रम स्वीकृति नलिएको जनाएको छ ।

यता, कामदार जानेक्रम घट्न थालेपछि नेपालबाट मलेसिया जाने विमानमा यात्रीको संख्यामा ह्वात्तै कमी आएको छ ।

काठमाडौंदेखि क्वालालम्पुर उडान गर्ने पाँचओटा एअरलाइन्स कम्पनीहरुले आफ्नो ५० प्रतिशत उडान कटौती गरेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ ।

जुन महिनाको दोस्रो सातासम्म हिमालय एअरलाइन्सले ४९४ र नेपाल एअरलाइन्सले ५५२ जना यात्री बोकेका छन् ।

मे महिनामा हिमालय एअरलाइन्सले २ हजार ९३४ र नेपाल एअरलाइन्सले ३ हजार ७० जना यात्री उडाएका थिए ।