
काठमाडौं, कात्तिक १३ । इन्डोनेसियामा सोमबार दुर्घटनामा परेको लायन एअरको विमानको खोजीकार्य जारी छ ।
ड्रोन विमान र पानीमुनि ध्वनीको तरंगबाट वस्तु पत्ता लगाउने प्रविधिको प्रयोगबाटसमेत समुद्रमा खोजी भइरहेको अधिकारीहरुले जनाएका छन् ।
राजधानी जकार्ताबाट १८९ यात्री र चालकदलका सदस्य लिएर उडेको बोइङ ७३७ विमान पाङकल पिनाङ जाँदैगर्दा उडेको १३ मिनेटमा नै जाभा समुद्रमा खसेको थियो ।
दुर्घटनामा परेको विमानबाट कोही पनि जीवित भेटिने संकेत नदेखिएको र उद्धारकर्ताहरुले समुद्रमा परिचयपत्र, चालक अनुमतिपत्रलगायत यात्रीका व्यक्तिगत सामान संकलन गरेका छन् ।
विमानमा समस्या आएको भन्दै पाइलटले जकार्ता विमानस्थलमा फर्कने अनुमति लिएलगत्तै राडारसँग उसको सम्पर्क टुटेको थियो । राडारसँग सम्पर्क टुट्नुअघि विमान ३६ सय ५० फिटको उचाइमा उडिरहेको थियो ।
‘म्याक्स एट सिरिज’को उक्त विमान बोइङको नयाँ मोडलमध्येको एक भएको र केही महिनाअगाडिमात्रै इन्डोनेसिया पुगेको बताइएको छ ।
विमानका उपकरणमा अघिल्लो दिन नै समस्या देखिएको बीबीसीले जनाएको छ ।
विमानको प्राविधिक ‘लग बुक’बाट प्राप्त जानकारीअनुसार आइतबार बालीबाट जकार्ता आउनेक्रममा विमानको उपकरणमा गम्भीर समस्या देखिएको थियो ।
पाइटलले विमानको केही उपकरण ‘भर गर्न अयोग्य’ रहेको उल्लेख गरेका थिए । यति हुँदाहुँदै पनि विमान उडाउनुको कारणबारे गम्भीर बहस सुरु भएको छ ।
सन् १९९९ मा स्थापित लायन एअरको सुरक्षा रेकर्ड र कमजोर व्यवस्थापनबारे विभिन्न प्रश्न उठेका थिए । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्