१० चैत्र २०७९, शुक्रबार | Fri Mar 24 2023


मोटरसाईकल चोरीमा संलग्न ६ जना पक्राउ


0
Shares

कैलाली, जेठ २७ । धनगढीका विभिन्न स्थानबाट मोटरसाईकल चोरीमा संग्लन ६ जनालाई पक्राउ गरी प्रहरीले सार्वजनिक गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीले पत्रकार सम्मलन गरी उनीहरुलाई सार्वजनिक गरेको हो । विभिन्न ठाउँबाट मोटरसाईकल चोरी गरेर विक्री गर्ने समूहका ६ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

सार्वजनिक गरेकामध्ये ४ जना मोटरसाइकल चोरी गर्ने तथा २ जना चोरीको मोटरसाईकल बेचबिखन गर्ने कार्यमा संलग्न रहेको प्रहरीको भनाइ छ ।

मोटरसाईकल चोरी गर्नेमा धनगढी उपमहानगरपालिका–६ मटियारीका २१ वर्षीय गोरे भनिने रामभजन राना, सुदुरपश्चिम समाज नामक संस्थामा काम गर्ने कैलाली गाउँपालिका दुधियाका १८ वर्षीय सन्जु चौधरी, धनगढी उपमहानगरपालिका–६ मटियारीमा आलमुनियक पसलमा काम गर्ने २० वर्षीय सुरज राना रहेको प्रहरीले जनाएको छ ।

त्यस्तै चोरेर ल्याएका मोटरसाईकल बेचबिखन गर्नेमा कञ्चनपुरको वेदकोट नगरपालिका– ५ का २८ वर्षीय पदम धानुक र घोडाघोडी नगरपालिका–९ का किसन चौधरी छन् ।

धानुकले ग्यारेज सन्चालन गरी चोरेर ल्याएका मोटरसाईकल बेचबिखन गर्ने र चौधरी ग्यारेजमा काम गर्दै चोरीका मोटरसाईकल वेचविखन गर्दै आएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक विनोद घिमिरेले बताए ।

उनीहरुले राति १० बजेदेखि २ बजेसम्म धनगढीका मुख्य स्थानमा राखिएका मोटरसाईकल चोरी गर्दै आएका थिए ।

हसनपुर बसपार्क पछाडि, चटकपुर, क्याम्पसरोड लगायतका स्थानबाट बढीमात्रामा मोटरसाईकल चोरी गरेको उनीहरुले स्वीकारेको प्रहरीले जनाएको छ ।

उनीहरुले सबैभन्दा बढी पल्सर त्यसपछि अपाची, सुपर स्प्लेन्डर लगायतका मोटरसाईकल चोरी गर्दै आएका थिए । उनीहरुले चोरेका ७ वटा मोटरसाईकल पनि बरामद गरेको प्रहरी उपरीक्षक घिमिरेले जानकारी दिए ।

उनले मोटरसाईकल चोरी गर्नेलाई मात्रै नभएर खरीद गरेर चलाउनेलाई पनि मुद्दा चलाउने बताए ।