७ जेष्ठ २०८१, सोमबार | Mon May 20 2024


नेपाल प्रहरीको लोकतान्त्रिकीकरण जरुरी : मुख्यमन्त्री गुरुङ


0
Shares

पोखरा, कार्तिक ११ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले नेपाल प्रहरीको लोकतान्त्रिकीकरण हुनुपर्ने बताएका छन् ।

प्रहरी प्रधान कार्यालयको आयोजनामा आज पोखरामा आयोजित समुदाय–प्रहरी साझेदारी कार्यक्रममा उनले शासन सत्ता टिकाउनका लागि शासकहरूले नेपाल प्रहरीको प्रयोग गर्ने प्रवृत्तिको अन्त्य गर्दै यसको लोकतान्त्रिकीकरण हुनु आवश्यक भएको बताए ।

राजनीतिकीकरणबाट प्रहरीलाई मुक्त गर्दै यसको छवी राम्रो बनाउनुपर्नेमा उनको जोड थियो । संघीय व्यवस्थाअनुरुप प्रदेशको सुरक्षा व्यवस्था प्रदेशको मातहतमा आउनुपर्नेमा जोड दिँदै मुख्यमन्त्री गुरुङले यसका लागि साबिकको प्रहरी ऐन चाँडो संशोधन हुनुपर्ने बताए ।

समाज एवं राज्यको सुरक्षामा प्रहरीको मात्र नभई व्यक्ति, परिवार र समुदायको महत्वपूर्ण भूमिका हुने उनले उल्लेख गरे ।

आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमानले सुरक्षाका लागि व्यक्ति, समाज एवम् समुदायलाई जोड्ने गरी आएको समुदाय प्रहरी साझेदारी कार्यक्रमलाई सबैको साथ र सहयोग आवश्यक रहेको धारणा राखे ।

सामाजिक विकासमन्त्री नरदेवी पुनले समाजिक सुरक्षाको वातावरणका लागि नागरिक र प्रहरी दुवैको सहकार्य आवश्यक बताइन् ।

प्रहरी नायब महानिरीक्षक दानसिंह बोहोराले सुरक्षाको प्रभावकारिताका लागि नेपाल प्रहरीसँग स्थानीय तह, समुदाय, सामाजिक संस्था, विद्यालय समेतलाई जोड्ने गरी समुदाय–प्रहरी साझेदारी कार्यक्रम शुरु गर्न लागिएको बताए ।

नेपाल प्रहरीले आजैदेखि केन्द्र एवम् सातवटै प्रदेशमा यो कार्यक्रमको शुभारम्भ गरेको उनले बताए ।

कार्यक्रममा कास्कीका प्रजिअ चन्द्रबहादुर बुढा, पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसी, जिल्ला समन्वय समितिका अध्यक्ष बैनबहादुर क्षेत्री लगायतले नागरिक सुरक्षाको प्रभावकारिताका लागि यो कार्यक्रम सफल बन्ने विश्वास व्यक्त गरे । (रासस)