११ जेष्ठ २०८१, शुक्रबार | Fri May 24 2024


नेपालमा पनि मरणोपरान्त छाला दान (भिडियो)


0
Shares

दीपक श्रेष्ठ/उत्तम मानन्धर (इमेज)

काठमाडौं, कात्तिक ८ । नेपालमा रक्तदान, आँखा दान र मिर्गौला दान गर्ने प्रचलन सुरु भएको लामो समय भइसकेको छ । तर, पछिल्लो समयमा छालाकोसमेत दान गर्ने चलन सुरु हुन थालेको छ ।

कुनैपनि बिरामीलाई छाला आवश्यक परेमा मरणोपरान्त अर्को व्यक्तिले दान गरेको छाला प्रत्यारोपण गरी जीवन दिन सकिन्छ ।

विशेषगरी आगोले जलेका बिरामीलाई छाला प्रत्यारोपण गर्नुपर्ने हुनसक्छ । कुनै व्यक्तिको शरीर ४० प्रतिशतसम्म जलेको अवस्थामा छाला प्रत्यारोपण गरी उसको उपचार गर्न सकिन्छ ।

लायन्स क्लब अफ काठमाडौंका डिस्ट्रिक्ट गभर्नर अनन्तप्रसाद भेटवाल पीडादायीरुपमा आफ्नो जीवन गुमाउन बाध्य बिरामीलाई छाला दान गरेर जीवनदान गर्नसकिने बताउँछन् ।

छाला दान गर्ने प्रचलन नयाँ भएकाले धेरै नेपालीलाई यसबारेमा थाहा नहुन पनि सक्छ ।

मृत्युपश्चात् शरीरको छाला दान गरे पुन्य प्राप्त हुने भएकाले यसलाई महाअभियानकैरुपमा अघि बढाउनुपर्ने भेटवालको भनाइ छ ।

विगत ८ वर्षमा १४ जना नेपालीलेमात्र मरणोपरान्त शरीरको छाला दान गरेको तथ्यांक छ ।

कतिपय नेपालीले भारतबाट छाला मगाएर जीवनदान पाएको उदाहरणसमेत भेटिन्छ । तर, भारतबाट छाला मगाउँदा चार लाख भारतीय रुपैयाँसम्म लाग्ने गरेको छ ।

स्वदेशमै निःशुल्क छाला उपलब्ध गराउन सकिए आगोमा जलेका धेरैलाई बचाउन सकिने चिकित्सकहरुको भनाइ छ ।

मानिसको मृत्यु भएको ६ घन्टाभित्र उसको शरीरबाट छाला निकाली सक्नुपर्छ । त्यसरी निकालिएको छाला पाँच वर्षसम्म संरक्षण गर्नसकिने प्रविधि नेपालमै उपलब्ध रहेको छालारोग विशेषज्ञ डा. शंकरमान राई बताउँछन् ।

भिडियो हेर्नुहोस्