८ आश्विन २०८०, सोमबार | Mon Sep 25 2023


पोखरा प्रिमियर लिगको ट्रफी सार्वजनिक


0
Shares

पोखरा, कात्तिक ८ । पोखरामा शुक्रबारदेखि सुरु हुने पोखरा प्रिमियर लिग (पीपीएल) ट्वेन्टी–२० क्रिकेटको ट्रफी सार्वजनिक गरिएको छ ।

बिहीबार फेवातालको बीचमा रहेको तालबाराही मन्दिरबाट विजेताले पाउने ट्रफी सार्वजनिक गरिएको हो ।

प्रतियोगितामा सहभागी हुने ६ ओटै टिमका कप्तानले बाराहीघाटबाट छुट्टाछुट्टै डुंगा चढेर मन्दिरमा पुगी संयुक्तरुपमा ट्रफी सार्वजनिक गरेका हुन् ।

पोखरा पल्टनका कप्तान शरद भेषवाकर, विराटनगर टाइटन्सका सन्दीप लामिछाने, चितवन राइनोजका पारस खड्का, काठमाडौं रोयल्सका ज्ञानेन्द्र मल्ल, एक्सपर्ट धनगढीका दीपेन्द्रसिंह ऐरी र बुटबल ब्लास्टर्सका कप्तान सोमपाल कामीले संयुक्तरुपमा सो ट्रफी सार्वजनिक गरेका हुन् ।

कात्तिक ९ देखि २० गतेसम्म पोखरा रंगशालाको क्रिकेट मैदानमा हुने प्रतियोगिताका विजेताले २७ लाख र उपविजेताले १० लाख रुपैयाँ पुरस्कार पाउनेछन् ।

प्रतियोगिताको उद्घाटन खेल घरेलु टिम पोखरा पल्टन र विराटनगर टाइटन्सबीच शुक्रबार बिहान ११ बजे हुनेछ ।

खेलको सम्पूर्ण तयारी पूरा भएको आयोजक क्विन्स इभेन्ट्स म्यानेजमेन्ट प्रालिका प्रबन्ध निर्देशक छुम्बी लामाले जनाए ।