१७ आश्विन २०८०, बुधबार | Wed Oct 4 2023


साफ यु–१५ फुटबलमा पाकिस्तानद्वारा भारत पराजित


0
Shares

काठमाडौं, कात्तिक ८ । साफ यु–१५ च्याम्पियनसिप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा पाकिस्तान विजयी भएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) मैदान सातदोबाटोमा बिहीबार दिउँसो सम्पन्न खेलमा पाकिस्तानले भारतलाई २–१ गोलको अन्तरमा पराजित गरेको हो ।

खेलको ३१औं मिनेटमा पाकिस्तानले अदनान जस्टिनको गोलबाट अग्रता लिएको थियो । खेलको ५३औं मिनेटमा भारतका थालाचुईले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए ।

तर, खेल सकिन ५ मिनेट बाँकी छँदा पाकिस्तानका वासिफले गोल गर्दै पाकिस्तानलाई जित दिलाए । मैदान छिरेको दोस्रो मिनेटमै उनले गोल गरेका थिए ।

खेलमा पाकिस्तानले सुरुआतदेखि नै भारतमाथि दबाब सिर्जना गरेको थियो । जितसँगै समूह ‘बी’मा पाकिस्तानले महत्वपूर्ण तीन अंक जोडेको छ ।

प्रतियोगिताअन्तर्गत् बिहीबारै नेपाल र माल्दिभ्सबीच सोही मैदानमा ३ बजे खेल हुनेछ । रासस