११ जेष्ठ २०८१, शुक्रबार | Fri May 24 2024


टाइटानिक जहाज फेरि बनाइँदै, अधुरो यात्रा पुरा गर्न सन् २०२२ मा समुद्रमा उतारिने


0
Shares

अस्ट्रेलिया, कार्तिक ८ । एउटा आइसबर्गमा ठोक्किएर आफ्नो पहिलो यात्राकै क्रममा सन् १९१२ को अप्रिलमा समुद्रमा डुबेको टाइटानिक जहाज एउटा कहानीमा सीमित भएको छ । उक्त जहाजबारे हलिउडमा चलचित्रसमेत बन्यो, जो व्यावसायिक रुपमा निकै सफल भयो । उक्त चलचित्रमा टाइटानिक जहाजको समुद्री यात्रा र दुर्घटनालाई निकै सटिक रुपमा देखाइएको छ ।

तर अब भने रियल लाइफ मै टाइटानिक जहाज देख्न पाइने भएको छ । यतिमात्र होइन, १०६ वर्ष अघि दुर्घटना हुँदा टाइटानिक जहाजको अधुरो रहेको यात्रालाई पुरा गर्नेगरी नयाँ टाइटानिक जहाजले आफ्नो पहिलो गन्तव्य बनाउने भएको छ । अधिकारीहरुका अनुसार नयाँ टाइटानिक जहाज सन् २०२२ मा समुद्रमा उतारिनेछ । उक्त जहाजलाई टाइटानिक–२ नाम दिइएको छ ।

टाइटानिक–२ जहाज ब्लुस्टार लाइनले निर्माण गर्न लागेको हो । अस्ट्रेलियाका व्यवसायी तथा कन्जरभेटिव नेता क्लाइभ पामरले यो जहाज निर्माणमा अग्रसरता देखाएका हुन् ।

सो जहाजले आफ्नो पहिलो यात्राका क्रममा दुई हजार ४०० यात्री र ९०० जना चालक दलका सदस्य बोकेर गन्तव्यतर्फ लाग्ने जनाइएको छ । १०६ वर्षअघि टाइटानिक जहाजले जति यात्री र चालक दलका सदस्य बोकेको थियो, त्यति नै यात्री र चालक दलका सदस्य लिएर टाइटानिक–२ पहिलो यात्रामा निस्किने जनाइएको छ ।

टाइटानिक–२ लाई टाइटेनिकजस्तै गरी डिजाइन गरिने भएको छ । जहाजको लेआउटदेखि सबै डिजाइन पहिलाको जस्तै बनाइनेछ । जहाज पुरानैजस्तो बनाइने भए पनि त्यसमा आधुनिक टेक्नोलोजी र सुरक्षा उपकरण जडान गरिने भएको छ ।

सन् २०२२ मा टाइटेनिक–२ दुबईबाट इंग्ल्याण्डको साउथम्पटन जानेछ । त्यसपछि न्यूयोर्ककका लागि प्रस्थान गर्नेछ । अधिकारीहरुका अनुसार उक्त जहाज त्यही रुटबाट न्यूयोर्क जानेछ, जुन रुटमा अप्रिल १९१२ मा टाइटानिक आफ्नो पहिलो यात्रामा निस्किएको थियो । (एजेन्सी)