१५ आश्विन २०८०, सोमबार | Tue Oct 3 2023


कांग्रेस महासमिति बैठकको तयारीमा, विधान बनाउनै विलम्ब


0
Shares

सरोज अधिकारी/नवीन स्थापित (इमेज)

काठमाडौं, कात्तिक ७ । नेपाली कांग्रेस महासमिति बैठकको तयारीमा जुटेको छ ।

पार्टी सन्चालनको मुख्य दस्तावेज विधान परिमार्जनलाई सबैभन्दा बढी समय दिइरहेको कांग्रेसभित्र विधान कस्तो बनाउने भन्ने सन्दर्भमा भने मतैक्य हुनसकेको छैन ।

आगामी मंसिर ५ देखि ९ गतेसम्म काठमाडौंमा हुने कांग्रेस महासमिति बैठकको मुख्य एजेन्डाकारुपमा पार्टी विधान परिमार्जन छ ।

देशभरबाट सुझाव संकलन गरेर आएको विधान समितिले दसैंअघि नै विधान पारित गरिसक्नुपर्ने हो । तर, अहिलेसम्म विधान समितिबाट नै विधान पारित हुन सकेको छैन ।

अझै केन्द्रीय समिति बैठकबाट पारित भएपछिमात्र महासमिति बैठकमा विधान पेस हुनेछ र पारित हुनेछ । सोही विधानका आधारमा पार्टीको आगामी अधिवेशनहरु सन्चालन हुनेछन् ।

तर, पार्टी सभापतिलाई कति अधिकार दिने ? कुन ‘मोडालिटी’बाट पार्टी पदाधिकारी तथा सदस्य चयन गर्ने ? भन्ने विषय अहिलेसम्म टुंगो लाग्नसकेको छैन ।

पार्टीभित्र यसबारे दुई मत देखिएको छ । सभापति शेरबहादुर देउवा पक्षधर सभापतिलाई थप अधिकार दिएर जाने पक्षमा छन् ।

वरिष्ठ नेता रामचन्द्र पौडेल समूहभित्रै पनि सभापतिलाई अधिकार दिने/नदिनेमा एकमत हुनसकेको छैन । कोही सबै पदाधिकारी निर्वाचित हुनुपर्ने पक्षमा छन् भने कोही केही सदस्य मनोनीत र केही निर्वाचित हुनुपर्नेमा छन् ।

समितिले भने तीनओटा वैकल्पिक प्रस्ताव पेस गरेको छ । पार्टी उपसभापति विमलेन्द्र निधि केन्द्रीय समिति बैठकबाट यसबारे सर्वसम्मत् निर्णय हुने भन्दै त्यसका लागि विभिन्न विकल्पमा छलफल भइरहेको बताउँछन् ।

विधान परिमार्जनकाक्रममा उठेको अर्को महत्वपूर्ण बहस भनेको महाधिवेशन प्रतिनिधिको प्रतिनिधित्वको विषय पनि हो । यसअघि, संसदीय निर्वाचन क्षेत्रबाटमात्र महाधिवेशन प्रतिनिधि चयन हुने व्यवस्था थियो ।

तर, अहिले निर्वाचन क्षेत्र घटेपछि प्रदेश, स्थानीय तह वा संघीय निर्वाचन क्षेत्र कुनलाई आधार मानेर महाधिवेशन प्रतिनिधि चयन गर्ने ? भन्नेमा छलफल चलेको छ ।

क्रियाशील सदस्य र सधारण सदस्य कसरी व्यवस्थित गर्ने ? भन्नेमा पनि गम्भीर छलफल भइरहेको बताउँछन्, उपसभापति निधि ।

भिडियो हेर्नुहोस्