५ आश्विन २०८०, शुक्रबार | Fri Sep 22 2023


ट्रम्पले भनेः साउदीको प्रतिक्रिया अहिलेसम्मकै खराब ढाकछोप हो


0
Shares

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पत्रकार जमाल खसोज्जीको हत्याका सम्बन्धमा साउदी अरेबियाले दिएको प्रतिक्रिया अहिलेसम्मकै खराब ढाकछोप भएको टिप्पणी गरेका छन् ।

संचारकर्मीहरुसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले हत्यामा संलग्न जोसुकै भएपनि उ ठूलो समस्यामा पर्ने चेतावनीसमेत दिए ।

खसोज्जी हत्याकाण्डलाई राष्ट्रपति ट्रम्पले साउदी अरबको नराम्रो सोचाइ, नराम्रो तरिका र इतिहासकै नराम्रो ढाकछोपको रुपमा ब्याख्या गरे ।

उनले हत्या गर्नेहरुले त्यस्तो नराम्रो सोच आउनासाथ त्यागेको भए राम्रो हुने थियो भन्दै अहिले उनीहरु समस्यामा रहेको र झनै ठूलो समस्याको सामाना गर्नुपर्ने बताए ।

राष्ट्रपति ट्रम्पको त्यस्तो प्रतिक्रिया आएलगत्तै विदेशमन्त्री माइक पोम्पेओले अमेरिकाले घटनामा संलग्नहरूलाई सजाय दिने बताएका छन् ।

उनले सन्दिग्ध २१ जनाको भिसा अमेरिकाले रद्द गर्न लागेको पनि जानकारी दिए ।

अमेरिकी विदेश मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा विदेशमन्त्री पोम्पेओले आफू र राष्ट्रपति ट्रम्प अहिलेको परिस्थितिलाई लिएर खुशी नरहेको पनि बताए ।

साउदी युवराज मोहम्मद बिन सलमानले घटनाबारे जे विवरण दिन्छन, के अमेरिकाले त्यो स्वीकार्ने छ भन्ने पत्रकारको जिज्ञासामा विदेशमन्त्री पोम्पेओले अमेरिकाले जे पत्ता लगाउँछ त्यसलाई आफुहरुले स्वीकार्ने जवाफ दिए ।

उनले पत्रकारको मुख थुन्ने बर्बर हिंसालाई अमेरिकाले नसहने पनि स्पष्ट पारे ।(एजेन्सी)