१७ आश्विन २०८०, बुधबार | Wed Oct 4 2023


दसैं मनाउन गाउँ गएकाहरु धमाधम कर्मथलो फर्कंदै (भिडियो)


0
Shares

मीरा बस्नेत/दीपक श्रेष्ठ/नवीन स्थापित (इमेज)

काठमाडौं, कात्तिक ६ । बडादसैं मनाउन गाउँ गएकाहरु कर्मथलो फर्कन थालेका छन् । विजयादशमीको टीका लगाएपछि उनीहरु सहर फर्कन थालेका हुन् ।

विभिन्न नाका हुँदै अहिले हजारौंको संख्यामा मानिस काठमाडौं फर्कन थालेको ट्राफिक प्रहरीले जनाएको छ ।

दसैं मान्न आफ्नो पुर्ख्यौली थलो पुगेकाहरु टीका लगाएपछि कर्मथलो फर्कन थालेका छन् । यस वर्ष दसैंका लागि करिब २४ लाख मानिसले काठमाडौं छाडेका थिए ।

अहिले दैनिक एक लाख २० हजारभन्दा बढी मानिस विभिन्न नाका हुँदै काठमाडौं भित्रिरहेको महानगरीय ट्राफिक प्रहरी प्रमुख एसएसपी वसन्तकुमार पन्तले जानकारी दिए ।

कात्तिक ५ गतेसम्म दसैं मनाउन काठमाडौं उपत्यका छाड्नेमध्ये तीन लाख ५३ हजार यात्री फर्किसकेको एसएसपी पन्तले बताए ।

पूर्णिमासम्म दिइँदै आएको सरकारी बिदा यस वर्ष कटौती गरेर एकादशीसम्ममात्र दिइएकाले पनि मानिस छिट्टै फर्कनेक्रम बढेको हो ।

काठमाडौं प्रवेश गर्ने नाकाहरुमा सवारी–साधनको आवागमन बाक्लिएको छ । थानकोट, गोंगबु नयाँबसपार्क, कोटेश्वर, बल्खुलगायतका क्षेत्रमा दसैं मनाएर फर्कनेहरुको भीड लागेको छ ।

विगतमा सडक मर्मत र विस्तारका नाममा भइरहने कामले घन्टौंसम्म जाममा बस्नुपर्ने बाध्यता यसपटक भने नभएको यात्रीहरुको अनुभव छ । तर, केहीले भने समयमा गाडी नपाउदा समस्या भएको बताए ।

यस्तै, घर जाँदा टिकट पाउन समस्या भएपनि फर्कंदा भने सजिलो भएको उनीहरुको भनाइ छ ।

राजमार्गहरुमा सवारीको चाप बढेसँगै ट्राफिक प्रहरीले पनि विशेष सतर्कता अपनाएको छ ।

यात्रीहरुलाई छिटो गन्तव्यमा पुग्ने व्यवस्था मिलाउन ठाउँठाउँमा ट्राफिक प्रहरी परिचालन गरिएको छ ।

भिडियो हेर्नुहोस्