८ आश्विन २०८०, सोमबार | Mon Sep 25 2023


तुलसीपुरमा प्रादेशिक स्तरको अस्पताल बन्छ : मुख्यमन्त्री पोखरेल


0
Shares

विवेक खड्का

दाङ कार्तिक ६ । प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेलले तुलसीपुरको अञ्चल अस्पताललाई प्रादेशिकस्तरको अस्पताल बनाउने बताएका छन् ।

सामान्य उपचारका लागि पनि यहाँका जनता टाढा जान बाध्य भएको भन्दै मुख्यमन्त्री पोखरेलले सुविधा सम्पन्न अस्पताल सञ्चालनका लागि प्रदेश सरकारले योजना बनाइरहेको बताए ।

तुलसीपुर उपमहानगरपालिकाले आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा बोल्दै उनले तुलसीपुरमा रहेको टरिगाउँ विमानस्थल सञ्चालनमा आउनु सुखद् कुरा भएको बताउँदै टरिगाउँ र नारायणपुरको विमानस्थल निर्माण एकैपटक सुरु हुने बताए । 

दाङको विकासका लागि सबै एकजुट हुनुपर्ने आवश्यकता औंल्याउँदै उनले विकासका लागि क्षेत्रीय स्वार्थ त्याग्नुपर्ने बताए । दाङलाई प्रादेशिक राजधानी बनाउने कुरा आफ्नो हातमा नरहेको बताउँदै उनले अघिल्लो सरकारले गरेको गल्तीको दोष जनताले आफुलाई लगाएको आरोपसमेत लगाए ।

‘राजधानी देउवा सरकारले तोक्ने अनि पुत्ला शंकर पोखरेल र कृष्णबहादुर महराको जल्ने, हामी कस्तो राजनीतिक धरातलमा छौं ?’ मुख्यमन्त्री पोखरेलले प्रश्न गरे ।

प्रदेशको राजधानी छान्ने काम आफ्नो नभएको बताउँदै प्रदेशसभाको दुई तिहाई बहुमतले त्यसको छनोट गर्ने उनको कथन थियो । दाङमा सिँचाई र खानेपानीको समस्या रहेको भन्दै उनले माडीको पानी दाङ ल्याउनका लागि प्रदेश सरकारले पहल गरिरहेको बताए ।