
बासुदेव बर्मा
कपिलवस्तु, कार्तिक ५ । दशैंको त्रियोदशीको दिनमा कपिलवस्तुको पश्चिम क्षेत्र शिवराज नगरपालिकाको चन्द्रौटामा धार्मिक सद्भाव सहित दशैंको सराय जात्रा निकालिएको छ । खासगरी पहाडी जिल्लाहरुमा मनाइने सराय जात्रा बिस्तारै तराईका जिल्लाहरुमा पनि मनाउन थालिएसँगै सोमबार कपिलबस्तुको चन्द्रौटामा वृहत सराय जात्रा निकालिएको हो ।
घटस्थापनाको दिन पुजाआजासहित राखिएको दुर्गा भवानीको हातहतियार आज पञ्चेबाजासहित खुकुरी, तरबार र खुँडा नचाई एकापसमा जोडिएर ‘बाखै हो’ भन्दै सराय नाच नाच्ने गरिन्छ ।
चन्द्रौटाको दुर्गा मन्दिरबाट विगत एक दशक यता यो सराय नाच नाँच्न लागिएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष तारा पौडेलले बताए ।
पहाडका विभिन्न जिल्लाबाट बसाइसरी आएकाहरुले चन्द्रौटा क्षेत्रमा पनि पहाडी जिल्लामाजस्तै दशैंको बेला नाच्ने सराय जात्राले यहाँ बसोबास गर्ने सम्पूर्णमा सामाजिक तथा धार्मिक सद्भाव कायम गर्न महत्वपूर्ण भूमिका खेलेको पौडेलले जनाए ।
महान पर्वको अवसरमा चन्द्रौटामा गरिने सराय जात्राले यस क्षेत्रमा बसोबास गर्ने समुदायहरुमा भारइचाराको सम्बन्ध स्थापित हुने शिवराज नगरपालिकाका उपप्रमुख शिवकुमारी थारुले बताइन् । ‘हामी सबैले यस पर्वलाई सदभावको रुपमा ल्याउन जरुरी छ, यसलाई नगरपालिकाले नै सदभावको रुपमा हेरेको छ,’ उनले भनिन् ।
सोमबार दिउँसो दुर्गा मन्दिरबाट निकालिएको सराय चन्द्रौटा बजार परिक्रमा गर्दै कृष्णनगर रोडमा रहेको कर्णेश्वरी मन्दिरुमा पुगि त्यहाँबाट फुलपाती लिएर पुनः बजार परिक्रमा गर्दै राष्ट्रिय मावि पछाडीको जवाई नदीमा फुलपाती सेलाउने र घटस्थापनाको दिन स्थापना गरिएको देवता दुर्गा मन्दिरमा भित्र्याइने चलन रहेको मन्दिर व्यवस्थापन समितिका कोषाध्यक्ष नेत्र प्रसाद बेल्वासेले जानकारी दिए ।
सराय नाचले यस क्षेत्रमा सामाजिक, धार्मिक सद्भाव कायम राख्दै आपसी भाइचाराको सम्बन्ध अझ मजबुत बनाउने कार्य गरेको व्यापार संघ कपिलवस्तुका अध्यक्ष महादेव पोखरेलले बताए ।
प्रतिक्रिया दिनुहोस्