
विराटनगर, कार्तिक ५ । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले नेपाली कांग्रेसको अस्तित्व अहिले पनि बलियो रहेको बताएका छन् ।
विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँगको संक्षिप्त कुराकानीमा उनले जति सक्दो चाँडो पार्टीको महासमितिको बैठक बस्नुपर्ने पर्नेमा जोड दिए । उनले पार्टीभित्र देखिएका गुटबन्दीले गर्दा निर्वाचनमा पराजयको स्थिति भोग्नुपरेको चर्चा गर्दै यसको जस–अपजस नेतृत्वले मात्र होइन, सबैले लिनुपर्नेमा जोड दिए ।
सोही अवसरमा नेपाली कांग्रेसका नेता तथा पूर्व उपप्रधानमन्त्री विजयकुमार गच्छदारले सरकार सञ्चालन गर्ने जनादेश पाएको वर्तमान सरकार अलमलमा पर्न नहुने तर्क गरे । उनले वर्तमान सरकारको सफलतासँगै राजनीतिक उपलब्धि पनि संस्थागत हुने भएकाले युगान्तकारी परिवर्तन गर्न बनेको संविधान पूर्ण कार्यान्वयन होस् भन्ने कामना गरे ।
गच्छदारले आगामी निर्वाचनमा सफलता हात पार्न नेपाली कांग्रेस अहिलेदेखि नै जनता र कार्यकर्ता माझ जानसक्ने कार्यक्रम तयार गर्नुपर्ने विचार पनि व्यक्त गरे । (रासस)
प्रतिक्रिया दिनुहोस्