
काठमाडौं । साउदी अरेबियाले पत्रकार जमाल खसोग्जीको हत्या भएको स्वीरका गरेको छ ।
त्यसका लागि छाडा एजेन्टहरू जिम्मेवार भएको उसले बताएको छ । साउदी विदेशमन्त्री आदिल अल–जुबैरले त्यो भयङ्कर भूल भएको फक्स न्यूजलाई बताएका छन् ।
यद्यपि प्रभावशाली युवराजको निर्देशनमा खसोग्जी हत्या गराइएको आरोप भने उनले अस्वीकार गरे ।
पत्रकार खशोग्जीबारेको विषयमा सत्यतथ्य बाहिर ल्याउन साउदी अरेबियामाथि ठूलो दबाबमा छ ।
अक्टोबर २ मा टर्कीको इस्तानबुलस्थित साउदी वाणिज्य दूतावास प्रवेश गरेदेखि खशोग्जी बेपत्ता भएका थिए ।
आफ्नी पूर्वपत्नीसँग सम्बन्ध विच्छेद गरेको प्रमाणित गर्ने कागजात लिन उनी वाणिज्य दूतावास पुगेका थिए ।
टर्कीका अधिकारीहरूको विश्वास छ, वाणिज्य दूतावासभित्रै साउदी एजेन्टहरूले खशोग्जीको हत्या गरेको हुनुपर्छ ।
यसअघि साउदी अरेबियाले खशोग्जी वाणिज्य दूतावास भवनबाट त्यो दिन सकुशल बाहिरिएको बताउँदै आएको थियो ।
तर शुक्रवार पहिलो पटक उसले वाणिज्य दूतावासका कर्मचारीहरूसँग खशोग्जी बाझाबाझले उनको मृत्युको घटना निम्त्याएको स्वीकार गर्यो ।
आफ्ना पछिल्ला टिप्पणीमा साउदी विदेशमन्त्री अल–जुबैरले घटनालाई हत्याको रूपमा व्याख्या गरेका छन् । उनले सबै तथ्य पत्ता लगाउने र हत्यामा संलग्नहरूलाई सजाय दिने कुरामा आफुहरु दृढ रहेको बताएका छन् ।
अल–जुबैरले जसले त्यो काम गर्यो उसले आफ्नो अख्तियार बाहिर गएर त्यस्तो गरेको भन्दै त्यो भयङ्कर भूल हो र त्यसलाई ढाकछोप गर्ने प्रयत्न गरेर अझ गल्ती गरिएको स्वीकार गरेका छन् ।
खशोग्जीको शव कहाँ छ भन्ने कुरा आफूहरूलाई थाहा नभएको पनि विदेशमन्त्री अलजुबैरले बताए । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्