१७ आश्विन २०८०, बुधबार | Wed Oct 4 2023


जसले दशैं मनाउन पाएनन्ः बाधक बन्यो आफ्नै पेशा(हेर्नुहोस भिडियो)


0
Shares

मिरा बस्नेत/राजेन्द्र नापित(ईमेज)

काठमाडौं । आज बडादसैंको टीकाको दिन, विभिन्न पेशा, व्यवसायमा आबद्ध व्यक्तिहरु आफ्ना दैनिक कामलाई थांती राखेर पारिवारिक भेटघाट, खानपिनको रमाइलोमा व्यस्त छन् ।

तर यही समाजमा यस्ता पेशाकर्मीहरु पनि छन्,जो यति महत्वपूर्ण पर्वमा पनि आफ्नो काममा निरन्तर खटिरहेका छन्, अन्य दिन जस्तै ।

चिकित्सा,सुरक्षा,सञ्चार लगायतका अत्यावश्यक सेवामा काम गर्नेहरु दशैं जस्ता पर्वमा पनि निरन्तर खटिने वर्गमा पर्छन् ।

पेशागत धर्म निभाउन पर्दा चाडपर्वको समयमा पनि उनीहरु नियमित काममा व्यस्त छन् ।

सुरक्षाकर्मीको निम्ति चाडवाडको समय पारिवारिक भेटघाट भन्दा पनि जनताको जीउधनको सुरक्षामा अझ खटिनु पर्ने समय हो ।

जनताले निर्धक्क भएर चाडपर्व मनाउने वातावरण तयार पार्दैमा यतिबेला उनीहरुको समय बित्ने गर्छ ।

यो पेशामा लागेका कमैले मात्र परिवार इष्टमित्रलाई अरुले झै समय दिन पाइरहेका हुन्छन् । तर पनि उनीहरु खुसी नै देखिन्छन् ।

स्वास्थ्य क्षेत्रमा काम गर्नेहरुको दशैं पनि कार्य क्षेत्रमा नै बित्छ । विरामीको उपचार गर्नु पर्ने र अत्यावश्यक सेवा रोक्न नुहने हुंदा कामसंगै दशैंमा रमाउनु पर्ने उनीहरुको बाध्यता छ ।

विगत १३ वर्ष देखि न्यूरो सर्जनको रुपमा काम गरिरहेका डा विकेश खुम्बुको अधिकांश दशैँ अस्पतालमा नै बित्ने गरेको छ ।

घरपरिवारमा रमाईलो गर्न त उहांलाई पनि मन छ तर पेशागत धर्मका कारण अस्पतालमा नै धेरै समय बिताउनु परिरहेको छ ।

न दिन,न रात,न झरी बादल,न त चाडपर्व,जुनसुकै समयमा पनि सूचना सम्प्रषेणमा दत्तचित्त भई सक्रिय बनाइराख्नु पर्ने पेशा हो सञ्चार कर्म ।

यो पेशामा लागेकाहरुको दशैं पनि अधिकांश समय काममै वित्ने गर्छ ।

घर परिवार, आफन्त र ईष्टमित्रको जमघटभन्दा फिल्डमै बित्छ संचारकर्मीको दशैं पनि । सञ्चारकर्मको गहन दायित्वले उनीहरुलाई चाडवाडमा पनि बांधिरहेको हुन्छ ।  

अग्निनियन्त्रकको काम गरिरहेका गगन गुरुङले परिवारसगै बसेर दशै मनाउन नपाएको १० वर्ष भयो ।

जुनसुकै बेला जहां पनि पुग्न तयारी अवस्थामा रहनु पर्ने पेशागत चुनौतिले गर्दा पनि उनले दशैमा परिवारसंग रमाइलो गर्न पाइरहेका छैनन् ।

सुरु सुरुका वर्षमा नरमाइलो लागेपनि बानी पर्दै गएपछि दशैंको बेला काम गर्दा पनि उहांलाई नरमाईलो लाग्दैन ।

सार्वजनिक सवारी साधनका चालकहरु पनि दसैंका बेला कार्यक्षेत्रमै खटिएका हुन्छन् ।

फेरी पनि थोरै समय निकालेर सबैले दसैंमा कुनै न कुनै रुपले रमाइलो गर्न भने छाड्दैनन् । किनकि यो हाम्रो महान चाड न हो ।