१७ आश्विन २०८०, बुधबार | Wed Oct 4 2023


वृद्धाश्रमका वृद्धवृद्धाको दसैं कस्तो हुन्छ ? (भिडियो)


0
Shares

प्रतीक्षा खनाल/दिलिप पोखरेल (इमेज)

काठमाडौं, कात्तिक १ । बडादसैं परिवार र आफन्तसँग हर्ष र उल्लासका साथ मनाइरहँदा आफन्त नहुने वृद्धवृद्धाको भने कुनै विशेष तयारी देखिएन ।

सबैजना चाडबाडको चटारोमा व्यस्त रहँदा पशुपति वृद्धाश्रमका वृद्धवृद्धामा दसैंको खासै उत्साह छैन ।

कोही आफन्तजन नभएका वृद्धवृद्धाले दसैं कसरी मनाउँदै होलान् ? भन्ने कौतुहलताका साथ हाम्रो टोली काठमाडौंको पशुपतिस्थित वद्धाश्रम पुग्यो ।

त्यहाँ बस्ने विभिन्न उमेर समूहका वृद्धवृद्धा आफ्नो नियमित कार्यमै व्यस्त देखिन्थे । तर, एक समूहमा यस्ता पनि थिए, जो ओखरको जुवा खेलेर रमाइलो गर्दै थिए ।

सधैं यसैगरी समय बिताउनुहुन्छ ? भन्ने प्रश्नमा एक वृद्धले खुसीका साथ पैसा बटुल्दै दसैं भएकाले खेलेको बताए ।

कार्यालय प्रमुख मनोजकुमार बस्नेतले आश्रममा पनि आमपरिवारमाजस्तै दसैं मनाउने गरेको जानकारी दिए ।

आश्रम परिसरमै घटस्थापनाको दिनदेखि उमारेको जमरा र टीकाग्रहण गरी दसैं मनाउँदै आएको उनले बताए ।

दशमीका दिन गरिने रमाइलोकाबारेमा हामीसँग कुराकानी गर्दै एक वृद्धाले मीठो गीत सुनाइन् । दसैंको खुसी महसुस गर्दै उनले बाल्यकालका रमाइला क्षण पनि याद गरिन् ।

धेरै समय वृद्धाश्रममा बिताएकाले स्वाभाविकरुपमा वृद्धवृद्धाहरु त्यही माहोलमा रमाएर चित्त बुझाउँछन् । तर, कुरा गर्दै जाँदा केही वृद्धाले भने आफ्नो मनभित्रको दुःख पनि पोखे ।

भिडियो हेर्नुहोस्