
काठमाडौं, कात्तिक १ । अमेरिकाको ‘वासिङटन पोस्ट’ पत्रिकाले दुई सातादेखि बेपत्ता रहेका साउदी पत्रकार जमाल खसोग्गीले अरब जगतमा प्रेस स्वतन्त्रताका लागि आह्वान गर्दै लेखेको लेख प्रकाशित गरेको छ ।
उनी सुरक्षितरुपमा फर्कने सम्भावना नदेखिएपछि उनको लेख प्रकाशित गर्ने निर्णय गरिएको जनाइएको छ ।
खसोग्गीले वासिङटन पोस्टका लागि लेख्दै आएका थिए ।
गत अक्टोबर २ मा इस्तानबुलस्थित साउदी वाणिज्य दूतावासमा प्रवेश गरेको देखिएयता उनको अवस्था अज्ञात छ ।
टर्कीस् अधिकारीहरुले खसोग्गीको हत्या त्यहीँ भएको आरोप लगाएपनि साउदी अरबले भने अस्वीकार गर्दै आएको छ ।
घटनाबारे छानबिन गर्न टर्कीका अनुसन्धानकर्ताहरुलाई वाणिज्य दूतावासमा प्रवेश गर्न दिइएको थियो ।
अनुसन्धानमा संलग्नहरुले वाणिज्य दूतावासभित्र खसोग्गीमाथि यातना दिँदै हत्या गरिएको अडियो प्रमाण रहेको दाबी गरेको बीबीसीले जनाएको छ । तर, यसलाई सार्वजनिक गरिएको छैन ।
प्रतिक्रिया दिनुहोस्