१६ आश्विन २०८०, मंगलबार | Tue Oct 3 2023


मुख स्वास्थ्यमा ख्याल पुर्‍याउनुभएको छ ? रोगको संक्रमण देखापर्ला !


0
Shares

प्रज्ञा तिमल्सिना/लक्ष्मणमान डंगोल (इमेज)

काठमाडौं, कात्तिक १ । सामान्यतः मानिसले मुख स्वास्थ्यमा ख्याल नपुर्‍याउँदा विभिन्न रोगको संक्रमण देखापर्ने गर्दछ ।

मुख स्वास्थ्यमा ख्याल नगर्दा सुरुमा दाँतमा किरा लाग्ने, गिजा सुन्निने, गिजाबाट रगत आउनेजस्ता समस्या देखा पर्दै क्यान्सरसम्म हुने गर्दछ । नेपालमा हाल धेरै मानिस यस्तै समस्याबाट प्रभावित छन् ।

मानिसका मुखमा ७०० किसिमका ब्याक्टेरिया हुने गर्छन् । जसको संख्या करोडौं हुन्छ । त्यही ब्याक्टेरियाले नै दाँत तथा मुखलाई बचाउने गर्छ ।

यदि, मुख तथा दाँतको सफाइ राम्रोसँग नभए त्यही ब्याक्टेरियाले नै मुखमा नकारात्मक असर पार्न थाल्छ । दाँतबाट रगत बग्ने, गिजा दुख्ने र सास गन्हाउने समस्या देखिन थाल्छ ।

यस्तो समस्या लिएर अस्पताल आउनेहरुको संख्यासमेत बढ्दै गएको छ ।

सुरुआती चरणमा बेवास्ता गर्ने र जटिल अवस्था सिर्जना भएपछिमात्र अस्पतालमा पुग्नेक्रम बढेको बताउँछन्, दन्तरोग विशेषज्ञ डा. कालुसिंह खत्री ।

कतिपय व्यक्तिमा दाँत सफा गरेमा कमजोर हुन्छ भन्ने गलत धारणा रहेको पाइन्छ । तर, दाँतमा सामान्य समस्या देखापर्नेबित्तिकै चिकित्सकको सल्लाह लिने हो भने ६०/७० वर्षको उमेरसम्म पनि दाँतलाई स्वस्थ राख्नसकिने डा. खत्रीले बताए ।

मुख स्वास्थ्यमा विचार नपुर्‍याउँदा मुखको क्यान्सर हुने, दाँतमा समस्या आउने, गिजाले ठाउँ छाड्ने र दाँत छिट्टै झर्नेलगायतका समस्या देखिन्छ ।

दाँत दिनको दुईपटक सफा गर्ने, खानेकुरा खाइसकेपछि पनि मुख सफा गर्ने, धूमपान, मद्यपान नगर्ने र सन्तुलित भोजन गर्ने हो दाँत र मुखमा लाग्ने रोगबाट बच्न सकिन्छ ।

भिडियो हेर्नुहोस्