
काठमाडौं । अमेरिकाले साउदी अरेबियाका बेपत्ता पत्रकार जमाल खशोग्जीको हत्या भएको प्रमाण उपलब्ध गराउन टर्कीलाई आग्रह गरेको छ ।
यही अक्टोबर २ देखि टर्कीस्थित साउदी अरेबियाको दूतावासबाट बेपत्ता भएका पत्रकार खशोग्जीको हत्या भएको र आफूहरुसँग त्यसको प्रमाण रहेको दाबी टर्कीले गरेपछि अमेरिकाले त्यसको प्रमाण उपलब्ध गराउन आग्रह गरेको हो ।
साउदी अरेबियाले भने पत्रकार खशोग्जीको हत्या र त्यसमा आफ्नो संलग्नता अस्वीकार गर्दै आएको छ ।
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले ह्वाइट हाउसमा पत्रकारहरुसँग कुरा गर्दै आफूले हत्या भएको प्रमाण उपलब्ध गराउन टर्कीलाई आग्रह गरेको बताए ।
सुरुमा पत्रकार खशोग्जीको हत्यामा कुनै पनि किसिमले साउदी अरेबियाको संलग्नता रहेको देखिए कडा कारवाही गर्ने चेतावनी दिएका अमेरिकी राष्ट्रपति ट्रम्प साउदी अरेबियाका राजा सलमानसँगको टेलिफोनवार्तापछि केही परिवर्तन हुनु भएको छ । तर उनले आफू साउदी अरेबियाको ढाकछोपमा नलागेको प्रष्ट पारेका छन् ।
प्रतिक्रिया दिनुहोस्