१७ आश्विन २०८०, बुधबार | Wed Oct 4 2023


इथियोपिया मन्त्रिपरिषदमा महिलाको बाहुल्य


0
Shares

आदिस अबाबा, असोज ३० । इथोयोपियाका प्रधानमन्त्री अबिय अहमदले मन्त्रिपरिषदको आकार सानो बनाउने घोषणा गरेका छन् । तर, उनले मन्त्रिपरिषदका आधा सदस्य महिला राखेका छन् ।

२० सदस्यीय मन्त्रिपरिषदका मुख्य मन्त्रालयहरुमा महिलालाई जिम्मेवारी दिइएको अबियका प्रमुख अधिकृत फिटसम आरिगाले बताए ।

उनले नयाँ सिर्जना गरिएको शान्ति मन्त्रालयको साथै संघीय प्रहरी र गुप्तचर निकायका मुख्य जिम्मेवारी महिलालाई दिएको जानकारी दिए ।

‘शान्ति, व्यापार तथा उद्योग र रक्षा मन्त्रालयसमेतका महत्वपूर्ण मन्त्रालयहरु महिलालाई दिइएको छ’–आरिगाले बताए ।

राष्ट्रिय रक्षा मन्त्रालयमा आइसा मोहम्मदलाई जिम्मेवारी दिइएको छ र यो मन्त्रालयको जिम्मेवारी प्राप्त गर्ने उनी पहिलो महिला हुन् ।

संसदमा पूर्वसभामुख रहेकी मुफेरियात कामिललाई शान्ति मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

यसअघिको मन्त्रिपरिषदमा २८ जना मन्त्री थिए । जसमा पाँचजनामात्र महिला थिए ।

गत अप्रिलमा कार्यभार सम्हालेयता प्रधानमन्त्री अबियको यो पछिल्लो नाटकीय परिवर्तन हो ।

दुई वर्षदेखि सरकारविरुद्ध प्रदर्शन भएपछि पूर्वप्रधानमन्त्रीले राजीनामा गरेलगत्तै अबिय नयाँ प्रधानमन्त्री चुनिएका थिए ।

प्रधानमन्त्री अबियले छिमेकी मुलुक इरिट्रियासँगको दुई दशकदेखि जारी द्वन्द्वलाई समाप्त गरेका थिए ।

उनले विपक्षीहरुलाई कारागारमुक्त गर्नुका साथै विगतमा प्रतिबन्धित धेरै समूहलाई स्वदेश फर्काउने नीति ल्याएका थिए ।

प्रधानमन्त्री अबियले राज्यनियन्त्रित प्रमुख उद्योग, व्यवसायलाई निजीकरण गर्ने योजना सार्वजनिक गरेका छन् ।

४२ वर्षीय अबिय प्रधानमन्त्री भएपछि पनि गाउँघरमा जातीय संघर्षले तीव्रता पाएको छ ।

दक्षिणी इथियोपियामा जारी हिंसाका कारण १० लाख मानिस विस्थापित भइसकेका छन् । रासस/एएफपी