
काठमाडौं, असोज २९ । नेपाललाई चारवटा हवाई रुट थप्न असार पहिलो साता काठमाडौंमा सहमति जनाएको भारत त्यसबाट पछि हटेको छ ।
प्रस्तावित रुटको विषय टुंग्याउन बुधबार नयाँ दिल्ली पुगेको पाँच नेपाली प्राविधिक सकारात्मक निर्णय नभएपछि स्वदेश फर्केका छन् ।
‘भारतीय प्राविधिकले डिफेन्स (सैन्य) कारण देखाउँदै यसपटक निर्णय नै गरेनन्,’ बैठकमा सहभागी एक अधिकारीले भने, ‘यो विषय फेरि प्रधानमन्त्री तहकै वार्तामा फर्केको छ । प्राविधिकको वार्ताबाट टुंगिएन ।’
उनका अनुसार नेपालले मागेको हवाई रुटमुनि आफ्ना सैनिक क्याम्प र बढ्दो हवाई चाप रहेको भन्दै भारतले अनुमति दिन नसकिने जनाएको छ ।
दुई देशका प्रधानमन्त्रीबीच काठमाडौंमा भएको भेटघाटपछि वैशाख २९ गते जारी संयुक्त वक्तव्यमा हवाई रुट थप्ने विषय समेटिएको थियो । असार २ गते भारतीय विमानपत्तन प्राधिकरणका प्राविधिक वार्ता गर्न काठमाडौं आएका थिए । नेपालको नागरिक उड्डयन प्राधिकरणको टोलीसँग वार्तापछि उनीहरुले थप चार अन्तर्राष्ट्रिय रुट उपलब्ध गराउन सम्झौतापत्रमा हस्ताक्षरसमेत गरेका थिए ।–कान्तिपुर दैनिकबाट
प्रतिक्रिया दिनुहोस्