१६ आश्विन २०८०, मंगलबार | Tue Oct 3 2023


लमजुङमा बन्यो तत्कालिन राजा यशोव्रम्ह शाहको शालिक, प्रधानसेनापतिबाट अनावरण


0
Shares

नवीनराज कुइँकेल

लमजुङ, असोज २८ । लमजुङको बेसीशहर नगरपालिका–३ गाउँशहरमा रहेको लमजुङ दरवारमा यशोव्रम्ह शाहको शालिक निर्माण गरिएको छ । सो शालिकको आइतबार प्रधानसेनापति पुर्णचन्द्र थापाले अनावरण गरे ।

लमजुङको गाउँशहरमै जन्मिएका प्रधानसेनापति थापाले आफ्नै पहलमा दरवार परिसरमा यशोव्रम्ह शाहको शालिक निर्माण गराएका हुन् । छाउनीस्थित सैनिक संग्रहालयमा कार्यरत हवल्दार माधव पौडेलले शालिक निर्माण गरेका हुन् ।

पौडेलकाअनुसार तीन महिना लगाएर ६० केजी पित्तलको अर्धकदको शालिक बनाइएको हो । शालिक अनावरण गर्न आएका प्रधानसेनापति थापाले कालिका मन्दिरमा विशेष पुजा अर्चना गरि बलिसमेत दिएका दिए । 

शाहवंशीय राजाहरुको उद्गमस्थलको रुपमा परिचित गाउँशहरमा १६ औं शताब्दीतिर राजा यशोव्रम्ह शाहले शासन गरेको इतिहासमा उल्लेख छ । मुलुक बाइसे चौविसे राज्यमा विभाजित हुँदा लमजुङमा यशोव्रह्म शाहले राज्य गर्थे । गाउँशहरस्थित लमजुङ दरवारबाट विस्तार भएको शाह राजाहरुको शासन मुलुकमा गणतन्त्र आउनुअघि राजा ज्ञानेन्दसम्म आईपुगेको थियो । 

पृथ्वी नारायण शाहले सुरु गरेको राज्य एकीकरणमा गोरखा राज्यसँग मिल्नुअघि लमजुङमा नौवटा राजाले शासन गरेका थिए । यशोव्रम्ह शाहका कान्छा छोरा द्रव्य शाहको सन्ततिमा पृथ्वीनारायण शाह पर्छन् भने लमजुङमा उनका द्रव्य शाहका दाई नरहरी शाह र उनका सन्ततिले शासन गरेको इतिहास छ ।

सेनाको नेतृत्व सम्हालेपछि पहिलोपटक गृहजिल्ला आएका प्रधानसेनापति थापालाई स्थानीयले अभिनन्दन तथा सम्मान गरेका थिए । प्रधानसेनापति थापालाई बेसीशहर नगरपालिका, लमजुङ उद्योग बाणिज्य संघ, लमजुङ दरवार रहेको बेसीशहर–३ वडा कार्यालय एवं उनले अक्षारम्भ गरेको लमजुङ मावि गाउँशहरले अभिनन्दन गरेको थियो । 

ऐतिहासिक दरवारको संरक्षण र प्रवर्द्धनमा विषेश चासो दिएका प्रधानसेनापति थापाले लमजुङ माविका लागि एकलाख रुपैयाँ सहयोग गरेका छन् ।