
दुर्गा उपाध्याय
कञ्चनपुर, असोज २८ । निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाको छानबिनका लागि प्रमाण खोज्दै कञ्चनपुर पुगेको प्रहरी अतिरिक्त महानिरीक्षक धिरु बस्न्यात नेतृत्वको टोली काठमाडौं फर्किएको छ ।
घटनासँग सम्बन्धित विविध पक्षसँग आवश्यक छलफल र केही प्रमाण संकलन गरेर सो टोली काठमाडौं फर्किएको हो ।
निर्मला पन्तको हत्यारा पत्ता लगाउन गठित विभिन्न समितिले कुनै निचोड निकाल्न नसकेपछि एकमात्र आशा गरिएको बस्नेत नेतृत्वको टोलीले पनि खासै ठोस प्रमाण संकलन गर्न भने सकेको छैन । टोलीले प्रहरी र स्थानीयबासिन्दासँग सोधपुछ गरेको छ । त्यसैगरी प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा निकायका प्रमुखहरुसँग पनि परामर्श र राय संकलन गरेको छ ।
बस्नेत नेतृत्वको टोलीले घटनास्थलको अवलोकनसमेत गरेको छ । घटनास्थलमा बालिकाको शव रहेको अवस्थाका बारेमा स्थानीयबासिन्दासँग कुरा गर्दै बालिकाका परिवारसँग पनि सोधपुछ गरेको छ । यस्तै, समितिले निर्मलाकी साथी रोशनी बमको घरमा पुगेर उनीहरुका परिवारसँग पनि छलफल गरी स्थानीय पत्रकार, नागरिक समाज, अधिकारकर्मीसँग अन्तरक्रियासमेत गरेको छ । अन्तरक्रियाको क्रममा छानविन समितिका संयोजक एआइजी बस्न्यातले निर्मलाको बलात्कारपछि भएको हत्याका बारेमा कुनै सूचना उपलब्ध गराउन आग्रह गरेको छ ।
अपराध समाजमै हुने भएकाले अपराधी र प्रमाण पनि त्यहिँ हुने भन्दै संयोजक बस्न्यातले घटनाको सुक्ष्म अध्ययन र अनुसन्धान भइरहेको बताए । अन्तक्र्रियामा सहभागी भएकाहरुले भने घटनाको प्रमाण मेट्नेहरुबाटै अनुसन्धान गरेर अभियुक्त पत्ता लगाउन सकिने जिकिरसमेत गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्