
मस्को, असोज २८ । विरोध प्रदर्शन आयोजना गरेको भन्दै तीन साताअघि पक्राउ परेका रसियाका विपक्षी नेता अलेक्सी नाभाल्नी आइतबार थुनामुक्त भएका छन् ।
मस्कोको दक्षिणमा रहेको एक कारागारबाट आइतबार बिहानै मुक्त गरिएका ४२ वर्षीय नाभाल्नीले पत्रकारसँग सङ्क्षिप्त कुरा गर्दै विगत ५० दिनदेखि कारागारमा थुनिएको घटनाले राष्ट्रपति भ्लादिमिर पुटिनको सत्ता पूर्णरुपमा पतनको स्थितिमा पुगेको बताए ।
नाभाल्नीले मस्कोको गुप्तचर निकाय विदेशमा असफल भइसकेको तथा स्वदेशमै पनि रुसी अन्तरिक्ष यानको प्रक्षेपण असफल भएको दृष्टान्त दिए ।
‘कसै कसैले गिरफ्तार गरेर हामीलाई तर्साउन वा रोक्न सकिन्छ भन्ने सोचेका होलान् त्यो कदापी सम्भव छैन,’ आफूलाई सहयोग गर्नेहरुप्रति धन्यवाद दिँदै उनले भने ।
रसियाको सत्ताको विरोधमा प्रदर्शन गरेबापत सेप्टेम्बरमा नाभाल्नीलाई ३० दिन थुनामा राखिएको थियो । तर थुनामुक्त भएलगत्तै प्रहरीले उनलाई अर्को प्रदर्शनको अभियोगमा गिरफ्तार गरेको थियो । अवकाश उमेर वृद्धि गर्ने क्रेमलिनको योजनाको विरोधमा पछिल्लो प्रदर्शन आयोजना गरिएको थियो ।
रुसी राष्ट्रपतिका पछिल्ला कार्यक्रम र नीतिहरुप्रति आमजनतामा व्यापक असन्तुष्टी रहनुका साथै उनको लोकप्रियता समेत खस्किएको छ । गत महिना रुसमा सम्पन्न दुईवटा क्षेत्रीय चुनावमा समेत सत्तारुढ युनाइटेड रसिया पार्टी पराजित भएको थियो ।
रुसी अधिकारीहरुले नाभाल्नीमाथि फौजदारी मुद्दा लगाउन सक्ने उनका समर्थकहरुले आशङ्का गरेका छन् । यस्तो अवस्थामा नाभाल्नीमाथि लामो काराबास सजाय हुन सक्नेछ ।
एम्नेस्टी इन्टरनेसनलले नाभाल्नी अस्थाका बन्दी रहेको र उनले कुनै अपराध नगरेको जनाएको छ ।
नाभाल्नी सन् २०११ र २०१२ मा पुटिनको विरोधमा ठुल्ठूला विरोध प्रदर्शन आयोजना गरेर चर्चामा आएका हुन् । संसदीय चुनावमा धाँधली भएको आरोप नाभाल्नीको छ । साथै उनले रुसमा भ्रष्टाचार विरोधी अभियानलाई तीव्र बनाएका छन् । यो अभियानमा युवाको सक्रिय र व्यापक समर्थन रहेको छ ।
पछिल्लो काराबाससँगै उनकी १७ वर्षीया छोरी डारियाले युट्युब कार्यक्रम ‘मेरो पिढींको आवाज’ सञ्चालन गरेकी छन् ।
मार्चमा भएको राष्ट्रपतीय निर्वाचनमा पुटिनका विरुद्धमा उठ्न नाभाल्नीलाई रोकिएको थियो ।
चौथो कार्यकालका लागि पुटिनको सपथग्रहण हुँदा विरोध प्रदर्शन आयोजना गरेको भन्दै नाभाल्नीलाई एक महिना थुनामा राखिएको थियो ।
अमेरिकाको येले विश्वविद्यालयबाट कानुनमा स्नातक गरेका र छोटो समयमा प्रमुख विपक्षी नेताको रुपमा उदाएका नाभाल्नीमाथि सत्तापक्षले एकपछि अर्को आरोप लगाएको छ । (रासस/एएफपी)
प्रतिक्रिया दिनुहोस्