काठमाडौं, असार ४ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता देव गुरुङले लद्दाखमा चीन र भारतबीचको तनावलाई संकेत गर्दै कतिपय पश्चिमा मुलुकहरुले हिमालय पर्वतीय क्षेत्रमा द्वन्द्व बढाउन खोजेको आरोप लगाएका छन् ।
प्रतिनिधिसभाको बिहीबारको बैठकको शून्य समयमा बोल्दै उनले चीन र भारतबीचको तनावले हिमालय पर्वतीय क्षेत्रमा द्वन्द्व हुने चिन्ता रहेको भन्दै वार्ताबाटै लद्दाख समस्या समाधान गर्नुपर्ने बताए ।
उनले वार्ताबाट समस्या समाधानका लागि नेपालले भूमिका खेल्नुपर्ने बताए ।
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद एवं पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले अमेरिकाको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)लाई संसदबाट छिटोभन्दा छिटो पारित गर्नुपर्ने बताए ।
राजपाकी सांसद चन्दा चौधरीले नेपाली नागरिकसँग विवाह गरेर आएकी विदेशी महिलालाई सात वर्षपछिमात्रै अंगीकृत नागरिकता दिने व्यवस्था गरे विभेदकारी हुने जिकिर गरिन् ।
सत्तारुढ दल नेकपाकी सांसद पूर्णाकुमारी सुवेदीले कोरोना नियन्त्रणका लागि सरकारले ल्याएको मोटरसाइकलमा एकजनामात्र चढ्न पाउने नीति अव्यावहारिक भएको बताइन् ।
प्रतिपक्ष दल कांग्रेसकी सांसद डिला संग्रौलाले कोरोना नियन्त्रण र रोकथाममा सरकारको लापरबाही अति भएको आरोप लगाइन् ।









प्रतिक्रिया दिनुहोस्